१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विष्णु पौडेलमाथि प्रतिनिधि सभा उम्मेदवार थापाले लगाए गम्भीर आराेप


2.392k
Shares

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीका रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार केशवबहादुर थापाले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट अन्यत्रै सार्ने कामको अगुवाई गरेको गम्भीर आरोप लगाउनुभएको छ।

सोही क्षेत्रमा थापा र पौडेलबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । चुनावी प्रचार अभियानलाई तीव्रता दिनुभएका थापाले आज मंगलबार आयोजित घरदैलो कार्यक्रममा बोल्दै पौडेलकै अगुवाईमा लुम्बिनी प्रदेशको राजधानी दाङको अन्कन्टार ठाउँमा लैजाने काम भइरहेकाे बताउनुभयो ।

उहाँले मुलुकलाई राष्ट्रिय सहमतीका साथ अघि बढाउन पनि सत्तारुढ दलहरूले मिलेर चुनावमा लडनु परेको दाबी समेत गर्नु भयो । संविधानको रक्षा गर्न, संघीयता, गणतन्त्र र समावेशीताको रक्षा गर्न आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनले जित्नुपर्ने उहाँको भनाइ थियो ।

थापाले आफूहरूले चुनाव जितेमा रोजगारीको अवसर सृजना गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुलभ बनाउने, औद्योगिकीकरण, वन र वातावरणको संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउने आश्वासन समेत दिनुभयो ।

त्यस क्षेत्रमा रहेका सुकुम्बासी समस्या समाधान गर्ने उहाँले प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।