
काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि नरेश थापालाई सहायक प्रशिक्षक नियुक्त गरेको छ ।
एन्फाले आज मैत्रीपूर्णका लागि थापालाई सहायक प्रशिक्षकको जिम्मेवारी दिइएको जनाएको छ । एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले थापालाई नियुक्ति पत्र हस्तान्तरण गरेका थिए ।
एन्फाले प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ । नेपालले कात्तिक ३० गते पाकिस्तानसँग दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल साँझ ५ बजे हुने एन्फाले जनाएको छ ।
फिफाको निलम्बन फुकुवासँगै आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तान नेपाल आउन लागेको हो । निलम्बन फुकुवापछि पाकिस्तानको सिनियर पुरुष टिमको यो पहिलो अन्तराष्ट्रिय खेल हो ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएपछि नेपाल नियमित मुख्य प्रशिक्षक विहीन रहदै आएको छ । यसअघि बंगलादेशविरुद्धको मैत्रीपूर्णमा प्रदिप हुमागाईले टिम सम्हालेका थिए ।
प्रतिक्रिया दिनुहोस्