
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले ओसासुनालाई हराएको छ । मंगलबार राति बार्सिलोनाले घरेलु टोली ओसासुनामाथि २–१ को जित निकालेको हो ।
बार्सिलोनाले घरेलु टोली ओसासुनासँग १–० ले पछि परेको स्थिति उल्ट्याएर २–१ को पूनरागमन जित दर्ता गरेको हो । बार्सिलोनाको जितमा पेड्री र राफिन्हाले गोल गरे । घरेलु टोलीका डेभिड गार्सियाले एक गोल गरे ।
खेलको छैटौं मिनेटमा गार्सियाले गोल गर्दै ओसासुनालाई सुरूवाती अग्रता दिलाएका थिए । तर, ४८ औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए । ८५ औं मिनेटमा परिवर्तित खेलाडी राफिन्हाले गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए ।
खेलको ३१ औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिन पुग्यो । फरवार्ड रोबर्ट लेवान्डोस्की दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा बेञ्चमा रहेका डिफेन्डर जेरार्ड पिके सिधैं रातो कार्ड खाँदै प्लेयर बक्स छाड्न बाध्य भए । ३५ वर्षीय डिफेन्डर पिकेले रेफ्रीसँग विवाद गरेको विषयमा मैदान बाहिर रहँदै रातो कार्ड खाएका थिए ।
जितसँगै बार्सिलोनाले ला लिगामा दोस्रो स्थानको रियल मड्रिडसँग ५ अंकको अग्रता बनाएको छ । बार्सिलोनाको ३७ र रियल मड्रिडको ३२ अंक छ । ओसासुना २३ अंक सहित तालिकाको छैटौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्