२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भारतीय हास्य कलाकार वीर दासमाथि उजुरी


715
Shares

एजेन्सी । भारतीय हास्य कलाकार वीर दास माथि उजुरी परेको छ ।

हिन्दू जनजागृति समितिले हास्यकलाकारविरुद्ध सोमबार प्रहरी चौकीमा एफआइआर दर्ता गरेको हो ।

यससँगै समितिका सदस्यहरूले वीर दासको शो खारेज गर्न माग गरेका छन् । शो नोभेम्बर १० मा बैंगलोरमा हुने तय भएको थियो । हिन्दू जनजागृति समितिका अध्यक्षले हास्य कलाकारले आफ्नो शो ले हिन्दू धर्मको धार्मिक भावनामा चोट पुर्याउने र विश्वसामु देशको गलत छवि प्रस्तुत गरेको आरोप लगाएका छन् ।

समितिका अध्यक्ष मोहन गौडाले उजुरीमा भनेका छन्, ‘वीरको आपत्तिजनक अभिव्यक्तिलाई ध्यानमा राख्दै यस्तो विवादास्पद व्यक्तिलाई बैंगलोर जस्ता संवेदनशील ठाउँमा शो गर्न दिनु उचित होइन । जहाँ केही समयअघि कर्नाटकमा सामुदायिक घटनाका कारण कानून व्यवस्था बिग्रिएको थियो । यस्तो अवस्थामा वीरको शो का कारण कानून व्यवस्थाको अवस्था बिग्रन सक्छ । त्यसैले हामी वीर दासको शो लाई स्वीकृत नगरि यथाशीघ्र खारेज गर्न माग गर्दछौं ।’

उजुरीमा समितिका अध्यक्ष गौडाले थप भने, ‘यसअघि पनि वासिङ्टनको जोन एफ केनेडी सेन्टरमा उक्त कमेडियनले देशका प्रधानमन्त्री र महिलालाई लिएर अश्लील अभिव्यक्ति दिएका छन् । जसका कारण विदेशमा कमेडियनले भारतको छवि धमिलो बनाएको छ ।’

केही समय अगाडि उक्त कमेडियनले शो मा भनेका थिए– ‘हामी दिनमा नारीको पूजा गर्छौं र राती महिलालाई बलात्कार गर्छौं ।’

यसअघि स्ट्यान्डअप कमेडियन मुनव्वर फारुकीको शो पनि रद्द गरिएको थियो । सेप्टेम्बरमा हास्यकलाकार अतुल खत्रीको शो पनि रद्द भएको थियो ।