
फाइल तस्वीर
चितवन, असार ३ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड सहज बनेसँगै तिव्र गतिमा सवारी साधन चलाउने क्रम बढेको छ ।
तिव्र गतिका कारण विगतमा पनि दुर्घटना भइरहेको र अहिले समेत दुर्घटना हुन थालेपछि प्रहरीले तिव्र गतिका सवारी साधनलाई कारबाही गर्न सुरु गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अहिले सवारी चेकजाँचमा कडाई गर्नुको साथै तिव्र गतिमा सवारी चलाउने चालकलाई कारबाही गर्न थालेको हो ।
प्रहरीले गति मापन गर्ने ‘राडर गन प्रयोग गरेर सवारी साधनको गति मापन गर्ने र तिब्र गतिका सवारी साधनलाई कारबाही गर्ने अभियान थालेको छ । सवारी चालकलाई सचेत गराउने अभियानलाई तिब्र पारिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए ।
‘राडर गन’को सहायताले सवारीको स्पिड जाँच गरिरहेका छौं, तिव्र गतिमा सवारी चलाउनेलाई कारवाही गर्न थालेका छौं,’ उनले भने ।
अहिले नारायणगढ–मुग्लिन सडकखण्डमा दिनहुँजसो राडर गनमार्फत सवारी साधनको स्पिड नाप्ने गरिएको छ ।
आइतबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको उपस्थितिमा नारायणगढ–मुग्लिन सडकखण्डमा ‘राडर गन’ले सवारी साधनको स्पिड मापन गरिएको थियो । सो क्रममा केही सवारी साधनहरु कारवाहीमा परेका छन् ।
उद्योग वाणिज्य संघ चितवनले ट्राफिक प्रहरीलाई राडर गन उपलब्ध गराएपछि ट्राफिक प्रहरी सवारीको गति नाप्न अग्रसर भएको हो ।
यस्तै नारायणगढ–मुग्लिन सडक खण्डमा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) समेत चेकजाँच बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्