
काठमाडौं । किराँत धर्मावलम्बीहरुले आज शुक्रबार महागुरु फाल्गुनन्दको १३८ औं जन्मजयन्ती मनाउँदै छन् ।
किराती समुदायको बसोबास रहेका पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम र झापा, सुनसरीमा फाल्गुनन्द जयन्ती धुमधामले मनाउने गरिन्छ । राजधानीमा बस्दै आएका किराँत समुदायले पनि यो दिवस मनाउने गर्दछन् ।
वि.सं. १९४२ कात्तिक २५ गते इलामको सामान्य परिवारमा जन्मेका फाल्गुनन्दको २००५ सालमा निधन भएको थियो । उहाँले किराँती भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा महत्वपूर्ण योगदान गर्नुभएको थियो ।
समाज सुधारका लागि फाल्गुनन्दले वि.सं. १९८८ साल बैशाख २४ गते लागू गरेको नीतिलाई किरात धर्मावलम्वीहरु सत्य धर्म मुचुल्का भन्ने गर्दछन् । किराती समाज सुधारमा उहाँले पुर्याएको योगदानको कदर गर्दै सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले महागुरु फाल्गुनन्द लिङ्देनको १३८ औं जयन्तीको अवसरमा शुभकामना सन्देश दिंदै सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्