१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बा ! यो कुन वाद हो ?


1.391k
Shares

अर्जुन सेन ओली

मलाई यो दुनियाँ देखाउने र चिनाउने मेरा बा हुन् । त्यसैले लाग्छ मेरो बाले आफूलाई वाहेक सबैलाई चिनेका छन र आफ्नो खुशी बिर्सेर पनि सबथोक जानेका छन् । अरुले मूर्तिलाई भगवान ठान्छन मैले त मेरा बा लाई भगवान मान्छु । भगवानसँग कहिलेकाँही आफ्नो क्षमता भन्दा बढि अपेक्षा गरियो भने आफूसँग भएको पनि खोसिदिन्छन कि भन्ने डर लाग्छ । आफैभित्रका अनुत्तरित प्रश्नले अवाक् छु र त धेरै दिनदेखि अनवरत रूपमा मेरो मथिङ्गल बेसुरमा विमर्श गरिरहेको छ । मलाई सर्वव्यापी र सबथोक ज्ञाता मेरा बासँग खोज्न मन छ अनुक्रम नमिलेका प्रश्नको जवाफ ।

मुलुकमा चुनावी रौनक छ । परिवर्तन चाहियो, विकास चाहियो, समृद्धि चाहियो भन्नेहरूको हिस्सा भन्दा ठूलो जमात दैनिक रोजीरोटीका लागि भौतारिरहेकाको छ । जसलाई शासन संचालनका सैद्धान्तिक वहस वा गुनासो प्रति कुनै सरोकार छैन तर आफुलाई सुविधा चाहियो भनेका छन् । भलै सुविधाका व्याख्या फरक –फरक होलान् । तिनै जनता जो अहिले राजनीतिक दलका कार्यकर्ता वा उम्मेदवारहरूका समर्थकको रूपमा विभिन्न पहिचानमा देखिन्छन् । राजनीतिक दलका घोषणापत्र/प्रतिवद्धतापत्र/सङ्कल्प वा अन्य कुनै नाममा प्रकाशित दस्तावेजहरूमा आफ्नो गुणगान र विपक्षीलाई आरोपमात्र रहेको भन्ने विश्लेषणले सामाजिक संजालमा स्थान जमाएकै छन् । नयाँ चुनावमा पुरानै एजेण्डाको झल्को पनि नदेखिएको कहाँ छ र? युवाको मानक विचार की उमेर ? ईमान्दारिता र नैतिकवानको मानक दलीय संलग्नता की स्वतन्त्र? समृद्धिको बाधक शासन व्यवस्था की शासकीय प्रवृत्ति? स्वस्तिक छापको रोजाइ चिन्हधारी पात्र की दूरदर्शी सोंच ? ..यस्तै अनेकौ प्रश्नका पक्ष र विपक्षका वकालतले पनि चियागफमा रोचकता थपेकै छन् । मेरो मनमा राज्यको यस्तो चित्र छचल्किरहेको छ जहाँ अगाडि व्याख्या गरिएको चरित्र र प्रवृत्तिले राज गरिरहेको हुन्छ । बा ! त्यो कस्तो राज्य हो ?

नेता त्यस्तो मान्छे हुन्छ, जसले नीति र नैतिकता जानेको र बुझेको हुन्छ । व्यक्तिको क्षमता, कौशलता तथा व्यवसायिकता जस्ता विषयहरु नेताका योग्यताको रुपमा चिनिन्छन् । आफ्नो क्षमता र योग्यतामा व्यवसायिकता भेटाउँछ । उसका लागि आफ्ना र आफन्त भनेका राज्यका सबै नागरिक नै हुन्छन् । राष्ट्रहित र नागरिक हित प्राथमिकताको विषय पर्दछ । राजनीतिक दलको सिद्धान्तको नारा भजाउन होईन विकासको गन्तव्य सहितको खाका बोकेर मतदाताकोमा पुग्दछ । राजनीति उसको पेशा वा व्यवसाय होईन मर्यादा र आस्थाको सेवा हुन्छ । गलामा माला र शिरमा सम्मानको पगरी गुथेर होईन काँधमा राज्यको जिम्मेवारी र कर्मको प्रतिफलमा सम्मान देखेर आफ्नो निष्ठा र ईमान्दारिताको लगानी गर्छ । जनताको चुल्होमा आगो बाल्न र किसानको खेतवारीमा खेती लगाउन होईन । चुल्हो बाल्ने सीप र चुल्होमा पकाउने खजाना सहितको फसल जनताको दैलोमा पुर्‍याउन सक्ने अवसरको सिर्जना गर्दछ । नेतृत्वमा राखिराख्ने जनताको चाहना हुँदा हुँदै अझै सवल र सक्षम नेतृत्व सीप विकास गरी जिम्मेवारी हस्तान्तरण गर्दछ र आफू पुनः जनता बन्न आईपुग्छ । राज्यको शक्ति भूगोल, जनता, सार्वभौमिकता तथा अन्तर्राष्ट्रिय पहिचान हो भन्ने त बुझेको हुन्छ नै । यो सँगै नीतिवान नेतृत्व, कूल ग्राहस्थ्य उत्पादन, क्रय शक्ति, मुद्रा, आन्तरिक उत्पादन, प्रविधि, सीप, मौलिक कला र संस्कृति लगायतका विषय राज्यको शक्तिको रुपमा बुझेको हुन्छ ।

जनता सबै जनताकै रुपमा रहेको हुन्छन, न कि कुनै दलको कार्यकर्ता मात्र । राम्रोलाई स्वीकार गरी नराम्रोलाई सुधार गर्न विरोध तथा सुझाव दिन सक्ने हुन्छन् । हरेक जनताको कर्तव्य तथा जिम्मेवारीमा समाज तथा राष्ट्रहित हुन्छ । शासनबाट प्राप्त लाभमा समन्यायिक पहुँच स्थापित गराउन हरेक तह र तप्कामा सहभागिता जनाउँछ । राज्यद्वारा जनताका लागि भनिएका हरेक कार्यक्रममा अपनत्व र स्वामित्व अनुभुत गर्न सक्छ । राज्यसँग जन्मसिद्ध र कर तिरे वापतको सुविधा के हो भनेर अधिकारको लागि मात्र वकालत गरिरहदैन । राष्ट्रियताको परिधानमा सजिएको उच्च शिर सहितको पहिचान स्थापित गरिदिएको मेरो देशको लागि केहि गर्नुपर्छ भनेर हमेशा प्रतिवद्ध हुन्छ ।

राष्ट्रसेवक र तिनीहरूमार्फत प्रवाह हुने सार्वजनिक सेवाले राज्यको मुहार झल्काउँछ । राष्ट्रसेवकको परिभाषा भित्र समेटिएकोमा सबैले गर्व महसुस गर्छन् । जिम्मेवारीको बाँडफाडमा सहजताका लागि विभिन्न पद वा समूहगत विभाजन हुन्छ न कि कुनै विभेदपूर्ण लाभ वितरणका लागि । जुनसुकै तह वा तप्कामा रहेर पनि राज्यले सुम्पिएको जिम्मेवारीले सिर्जना गरेको कर्तव्य पूरा गर्न सधै खरो उत्रिन्छन् । सबैले प्राप्त जिम्मेवारीमा स्रोत साधनको उपयोग गर्न कार्यको स्वतन्त्रता तथा अधिकारको स्वायत्तता प्राप्त गरेका हुन्छन् तथापि नतिजा मापनका न्यूनतम सूचकहरु भने स्थापित हुन्छन् । क्षमता र नतिजाका आधारमा जिम्मेवारीको मूल्याङ्कन हुन्छ र न्युनतम पारिश्रमिकमा थप सुविधा समेत जोडिएको हुन्छ । आफ्नो श्रम, सीप, क्षमताको पूर्ण उपयोग गरी राज्यले तोकिएको जिम्मेवारीमा तल्लिन राष्ट्रसेवक तथा निजसँग आश्रित परिवारको सामाजिक सुरक्षाका लागि राज्य जिम्मेवार हुन्छ । न्यूनतम आवश्यकता पूरा गर्नकै लागि राष्ट्रसेवकले अन्य वैकल्पिक उपायहरु अवलम्बन गरेर आफ्नो जिम्मेवारी प्रति न्याय गर्न नसक्ने अवस्था सिर्जना हुने कुरामा राज्य सधै चनाखो देखिन्छ । सदाचार र नैतिकता, पारदर्शिता र जवाफदेहिता, अनुशासन र आचारसंहिता जस्ता विषयहरु पाठ्यक्रम सजाउनका लागि होईन मानवीय व्यवहार रुपान्तरणका सर्व स्वीकार्य मान्यताको रुपमा अनुभुत हुन्छन् ।

नैतिक शिक्षा परिवार र समाजले सिकाउँछ भने आधुनिक सीप र उद्यमशिलता औपचारिक शिक्षाले । रैथाने मौलिक सीप तथा आधुनिक प्रविधिको उचित संयोजनले उत्पादनलाई व्यवसायिक बनाउँछ । पूर्वाधार विकास राज्यको प्राथमिक दायित्व र सो को उपयोग र संरक्षणमा नागरिकको अग्राधिकार रहेको हुन्छ । विकासका हरेक आयामहरुमा राज्यको समृद्धि र नागरिकको खुशी जोडिएको हुन्छ ।

निजी क्षेत्र राज्यको न त आदेशपालक न त नियन्त्रक नै, बरु यो त राज्यको सहयात्रीको रुपमा रहन्छ । उत्पादन र गुणस्तर तथा अनुसन्धान र विकासमा प्रतिस्पर्धी देखिन्छ । सामाजिक उत्तरदायित्व र जिम्मेवारीको दायित्वोध गरेको हुन्छ । राज्यका नीति नियमको पालना गर्ने र रचनात्मक सुझाव दिने लगायतका कर्तव्यहरु आधारभूत मान्यताको रुपमा अंगिकार गरेको हुन्छ । उद्यमशिल र सम्मानजनक रोजगारीको माध्यमबाट हरेक झुपडीका व्यक्तिसँग साईनो जोडेको हुन्छ । रोजगारदाता र श्रमिक एक अर्काप्रति विश्वस्त देखिन्छन जहाँ रोजगारदाताले हरेक श्रमिकमा विश्वास र ईमान्दारिता भेटाउँछ भने श्रमिकले आफू र आफूमा आश्रित परिवारको मर्यादित जीवन सहितको सुनिश्चित भविष्य। निजी क्षेत्र राज्यभित्र उपलब्ध स्रोत साधनको दिगो उपयोग गर्दै उत्पादनमूलक व्यवसाय तथा निर्यातमुखी वजारको माध्यमबाट मुलुकको अर्थतन्त्रको खम्बाको रुपमा रहन्छन ।
जनताको गास, वास, कपास, शिक्षा तथा स्वास्थ्य लगायतका आधारभूत सुविधाका लागि राज्य जिम्मेवार हुन्छ । आधारभूत आवश्यकताको लागि कहिल्यै कसैसँग हात थाप्नु पर्दैन । राष्ट्रहित र व्यक्तिहित एक अर्कामा अन्तरनिर्भर देखिन्छन् । जुनसुकै क्षेत्र प्राथमिकतामा पर्दा पनि यी दुवैको कल्याण र हित हुन्छ । विरोध र गुनासोका ध्वनी होईन सद्भाव, स्वाभिमान, र वीरताका गाथा गुन्जिन्छन् ।

यस बाहेकका पात्रहरुको पनि कार्यसूचीको लामो फेहरिस्ता हुन्छ तर लक्ष्य र गन्तव्य राज्यकै लक्ष्य अनुरुप हुन्छन । फरक पहिचानमा एउटै गन्तव्य बोकेर राज्यप्रतिको आफ्नो जिम्मेवारी केन्द्रित भूमिका निर्वाह गरिरहेका देखिन्छन् । सेवाको उत्पादनमा विविधता सहित वितरण प्रणालीमा प्रतिस्पर्धा हुन्छ । तर लाभको बाडफाँडमा समतामूलक न्याय भेटिन्छ । वैश्विक परिदृष्यमा राज्यको उच्च र अटल पहिचान अमेट बनेर रहिरहेको हुन्छ ।

जनताको प्रतिनिधिको रुपमा सरकार रहन्छ । राज्यले शासकीय क्रियाकलापमा जनसहभागिता, पारदर्शिता, उत्तरदायित्व र जवाफदेहिता प्रवर्द्धन गर्दछ । राज्यबाहेकका क्षेत्रबाट संचालित शासकीय गतिविधिमा नियामक तथासहजकर्ताको रुपमा उपस्थिति देखाउँछ । जनतालाई मुलुकको राष्ट्रियता प्रतिको गौरव, अन्तराष्ट्रिय पहिचान र सार्वभौमिकताको वास्तविक मर्मको अनुभुत गराउँछ । समृद्धि रेडिमेड भाषण बोकेको चिल्लो गाडिमा हिड्ने महलको नेताले मात्र होईन स्वाभिमान बोकेको झुपडिको हरेक नागरिकले सगौरब “मेरो देश, मेरो राष्ट्रियता र मेरो खुशी” को महसुस गर्न सक्छ ।
अव मलाई भनिदिनुहोस, बा ! यो कुन वाद हो ?