१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


भक्तपुर-२ मा परिवर्तनको बाहक म बन्न सक्छु : दुर्लभ थापा


403
Shares

प्रतिनिधि सभा सदस्य भक्तपुर क्षेत्र नं. २ का लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापासँग निर्वाचन केन्द्रित रहेर ईमेज खबरका मोहन बल्लले गर्नुभएको कुराकानीको सम्पादित अंश :

आमनिर्वाचनको मिति नजिकिंदै गर्दा तपाईले कसरी तयारी गरिरहनु भएको छ ?
भक्तपुर क्षेत्र नं. २ मा निर्वाचन लक्षित कार्यक्रमहरुलाई तीब्रता दिएका छौं । असोज १८ गते अघि कार्यकर्ता भेटघाट परिचालन भएको थियो भने त्यसपछि अहिले घरदैलो कार्यक्रम सञ्चालन भइरहेको छ । त्यस्तै, आमसभा र कोणसभा लगायतका कार्यक्रमहरु सञ्चालन भइरहेको छ ।

घरदैलो कार्यक्रममा मतदाताले कस्ता गुनासा राखेका छन् ?
विशेष गरी मतदाताहरुको समस्या भनेको सडक, खानेपानी र ढल निकाश लगायतका समस्याहरु रहेका छन् । यस्तै सामुदायिक विद्यालयको पुनर्निर्माण र शैक्षिक गुणस्तरको वृद्धि र स्वास्थ्यलयायतका समस्या रहेको पाएँ ।

यसैगरी, मतदाताहरुले राज्यबाट पाउनुपर्ने आधारभूत सेवा सुविधासहितको जीवन बाँच्ने अधिकारलाई सुरक्षित गर्ने चाहना रहेको पाएँ । देशमा स्थायी सरकार होस्, जनताले निर्वाचित गरेको संसदले पूरा समय काम गरोस् ।

तपाईका चुनावी एजेण्डाहरू चाहिँ के–के हुन् ?
सबै भन्दा पहिला यस निर्वाचन क्षेत्रका मतदाता माझ जाँदा हामीले नेपाली कांग्रेस पार्टीले मतदाताकाे बीचमा लिएर गएको घोषणापत्रको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छौं । संघीय निर्वाचन विकासको आश्वासन बाँड्ने निर्वाचन नभएर नीतिनिर्माण गर्ने तहको निर्वाचन हो भन्ने भन्न चाहन्छु ।

मुलुकको आर्थिक विकास, पूर्वाधार, स्वास्थ्य र शिक्षालगायत क्षेत्रहरूमा भोलि बन्ने सरकारले के–के गर्न सक्छ भनेर हामीले प्रष्टसँग भनेका छौं । यहाँ स्थानीय एजेण्डाको कुरा गर्ने हो भने हामीले क्षेत्रको विकासलाई जोड नदिने कुरै छैन् ।

खानेपानी, सडक, ढल, विद्युत, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा काम गरेर कहिल्यै नसकिने रहेछ । मैले यी सबै कुरालाई आधारभूत कुराहरू भनेको छु । आधारभूत सेवा सुविधाहरू यहाँबाट जसले जिते यो कार्य सधैं अघि बढ्ने छ ।

तपाईलाई नै मत किन ?
बहुमतको सरकार हुँदाहुँदै पनि देशलाई दुर्घटनातर्फ लाने पार्टीका उम्मेदवार भन्दा प्रजातन्त्र लोकतन्त्र र गणतन्त्रको समृद्धिमा लाग्ने गठबन्धनको उम्मेदवार भएकाले, अझै भनौं, विकासको खोक्रो भ्रम छरेर सामाजिक सञ्जालका भित्ता रंगाउनेभन्दा वास्तविक विकास चाहने भएकाले, यस भू–भागको हावापानी माटोमा हुर्किनुका साथै यस क्षेत्रका हरेक विषयको जानकारका साथै त्यसलाई आफ्नो विजय पश्चात सम्बोधन गर्न सक्ने पात्र भएकाले आफूलाई यस क्षेत्रका मतादाताले अत्याधिक मतका साथ विजय गराउनेमा म विश्वस्त रहेको छु ।

तपाईको जित्ने आधार के-के हुन् ?
कांग्रेसले जित्ने आधार भनेको कांग्रेसले गत आमनिर्वाचन पराजय भोगेपछि गरेका तयारी एक हो । अर्काे एमालेले बहुमतको सरकार हुँदा संसद दुई–दुई पटक विघटन गरेर देशलाई अन्योलतामा धकेलेको सबै माझ स्पष्ट भएको जनआक्रोश ताजै छ ।

अहिले कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतको गठबन्धन छ । र, त्यो भन्दा धेरै यसपटक भक्तपुर कांग्रेसमा जनलहर छ, कार्यकर्तामा उत्साह र एकता छ । यस्तो उत्साह र एकता विगतमा थिएन । यस्तै, भक्तपुर क्षेत्र नं. २ का मतदाताले यसपटक परिवर्तन खोजिरहेका छन् । त्यो परिवर्तनको बाहक म बन्न सक्छु भन्ने लाग्छ ।

गठबन्धनबाट उम्मेदवार बनिरहँदा भक्तपुर क्षेत्र नं २ मा गठबन्धन दलहरुको भूमिका कस्तो रहेको छ ?
म अहिले घरदैलो गरिरहेकै छु । जताततै उत्साह छ । पार्टीका साथीहरू, गठबन्धनका साथीहरू एकदमै उत्साहित भएर लाग्नुभएको छ । सबै मतदातासँग टोल–टोलमा, चोकहरूमा पुगेर अहिले भोट मागिरहेको छु, उहाँहरूले स्वागत गर्नुभएको छ, माया र शुभकामना दिइरहनु भएको छ । म नेपाली कांग्रेसको जिल्ला सभापति पनि हुँ । म आफैं उम्मेदवार भएपछि अहिले पार्टीका, गठबन्धनका सबै साथीहरू एक ढिक्का भएर चुनाव प्रचारप्रसारमा लाग्नुभएको छ । त्यसकारण अहिले जुन उत्साह र माहोल छ, यो अपूर्व छ ।