१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कसैले मत पेटिकामा छड्के आँखा लगाए ठाउँका ठाउँ कारबाही गर्न प्रमुख निर्वाचन आयुक्तको प्रहरीलाई निर्देशन


1.573k
Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा कसैले मत पेटिकामा छड्के आँखा लगाए ठाउँको ठाउँ कारबाही गर्न निर्देशन दिनुभएको छ ।

चितवनको भरतपुरमा नेपाल प्रहरीका अधिकृत र तालिमरत प्रहरीलाई सम्बोधन गर्दै थपलियाले कसैको डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदातामा विवेकको मत हाल्न पाउने वातावरण बनाउन निर्देशन दिनुभयो ।

मतदान केन्द्रमा सही मतदाता आएका छन् या अवरोध गर्ने तत्वहरू आएका छन्, त्यसको सूक्ष्म विश्लेषण गर्न र असुरक्षाको भ्रम चिर्न भन्दै थपलियाले मतपत्र र मत पेटिकामा कसैले छड्के आँखा लगाए ठाउँको ठाउँ कारबाही गर्न निर्देशन दिनुभयो ।

कुनै दल र उम्मेदवारले मतदातालाई प्रभावित पार्न नगद वा जिन्सी सामान दिएको पाइए पनि ठाउँको ठाउँ कारबाही गर्ने अधिकार प्रहरीलाई रहेको भन्दै उहाँले मतदाता, मतपेटिका र मतगणनाको सुरक्षा गरेर निर्वाचनको निष्ठा जोगाउने काममा सघाउन आग्रह गर्नुभयो ।