२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मतदाता शिक्षा कार्यक्रममा कठिनाई भएको गुनासो, तत्काल परिचयपत्र व्यवस्था गर्न माग


78
Shares

काठमाडाैं । मतदाता शिक्षा कार्यक्रमका लागि काठमाडौंमा खटिएका महिला स्वास्थ्य स्वयमसेविकाहरुले आफूहरुलाई काम गर्न कठिन भइरहेको बताएका छन ।

आइतबार बिहान काठमाडौंको नक्सालमा घरदैँलो गरिरहेका उनीहरुले परिचय पत्र नभएको कारण आफूहरुलाई मतदाता शिक्षा दिने काममा कठिनाई भइरहेको प्रतिक्रिया दिएका हुन् ।

तत्काल सो परिचय पत्र उपलब्ध गराई मतदाता शिक्षा कार्यक्रमलाई सहज बनाउने काममा सहयोग गर्न उनीहरुले निर्वाचन आयोगसँग माग समेत गरेका छन । परिचय पत्र नभएकाले आफूहरुलाई मतदाताहरुले घरको गेटसमेत नखोलिदिने गरेको काठमाडौं महानगरपालिका वडा नम्बर १ की महिला स्वास्थ्य स्वयमसेविका शर्मिला मानन्धरले प्रतिक्रिया दिनु भयो ।

उहाँले परिचय पत्रको अभावमा काम गर्न कठिनाई भएको उल्लेख गर्दै तत्काल परिचय पत्रको व्यवस्था गरिदिन पनि निर्वाचन आयोगसँग माग गर्नु भयो ।

महिला स्वास्थ्य स्वयमसेविका मानन्धरले भन्नु भयो, ‘मतदाता शिक्षा कार्यक्रमका लागि यो पटक हामीलाई परिचय पत्र पनि छैन । अनि मानिसहरुले यसो हेर्छ । अनि, पार्टीबाट आएको होला, छैन् । जाउँजाऊ तल राखेर भनेर गेट लगाएर जानु हुन्छ । हामीलाई यो काम गर्न जाँदाखेरी एकदम गेटमा घण्टी पनि नराखिदिने, मान्छे पनि आउने एकदम समस्या छ । निर्वाचन आयोगले पनि मतदाता शिक्षा कार्यक्रम छ । उहाँहरुलाई यसो सहयोग गरिदिनुस भनेर सूचना दिनुपर्ने हो नि । काम गर्न एकदम गाह्रो भईरहेको छ ।’

मतदाताहरुमा भोट हाल्न जाने कुरामा उदासिनता पाइएको पनि महिला स्वास्थ्य स्वयमसेविकाहरुको बुझाइ छ । भोट होलेर के हुन्छ ? भनेर मतदाताहरु मत हाल्न नै अनिच्छुक देखिएको पनि महिला स्वास्थ्य स्वयमसेविका मानन्धरले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘आमा, बुबा मात्रै यहाँ भएको कारणले पनि होला । भोट होल्ने बेलामा नेताहरुले कसरी लैजानु हुन्छ ? त्यो चाँही थाहा भएन । आफैं आउने इच्छा चाँही खासै छैन उहाँहरुको । कोही चाँही एकदम इन्ट्रेष्टेट नै छ । कोहीकोही चाँही आ हालेर के हुन्छ ? भन्ने त्यस्तो यान्सर पनि दिनु भयो ।’

निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई मतदाता शिक्षा कार्यक्रम सबै वडाहरुमा संचालन गर्ने जिम्मेवारी दिएको छ । जस अनुसार वडा सचिवको नेतृत्वमा बनाइएको मतदाता शिक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि महिला स्वास्थ्य स्वयमसेविकाहरु घरघरमा पुगिरहनु भएको काठमाडौं महानगरपालिका वडा नम्बर १ का सहायक वडा सचिव सर्वज्ञराज पौडेलले जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो, ‘वडा सचिवको संयोजकत्वमा ३ सदस्यीय मतदाता शिक्षा कार्यक्रम संचालन भईरहेको छ । हाम्रो यो वडा नक्साल, दरबारमार्ग, ज्ञानेश्वर, गैरीधारा, लैनचौंरसम्मको क्षेत्रमा पर्दछ । स्वास्थ्य स्वयमसेविकाहरु मतदाता शिक्षाका लागि मतदाताहरुको घरघरमा पुगिरहनु भएको छ । यो कार्यक्रम कात्तिक १८ गतेदेखि मंसीर १ गतेसम्म निरन्तर चल्नेछ ।’

मतदाता शिक्षा कार्यक्रम देशभर गत कात्तिक १८ गतेबाट सुरु भएको छ । यो कार्य मंसीर १ गतेसम्म चल्ने पनि सहायक वडा सचिव पौडेलले बताउनु भयो । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अव ७ दिन मात्रै बाँकी छ ।