
काठमाडौं । कास्कीको धम्पुसबाट छायांकन प्रारम्भ गरेको फिल्म ‘गुलाबी’ को छायांकन सम्पन्न भएको छ ।
फिल्मका दृश्यहरू धम्पुससँगै पोखरा र काठमाडौंमा खिचिएको हो । आइतबार ठमेलमा अन्तिम दृश्य खिचिएसँगै विभिन्न सेड्यूअलमा रहेर ३२ दिनमा फिल्मको छायांकन सकिएको निर्देशक समुन्द्र भट्टले जानकारी गराइन् । फिल्ममा समावेश एक गीत भने पछि खिचिने निर्माण टिमले जनाएकाे छ ।
पारलैङ्गिकताको कथा बोल्ने यस फिल्ममा नाजिर हुसैन, सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणाकाे मुख्य भुमिका रहेकाे छ । फिल्मको कथा निर्देशक भट्टकै हो भने पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसैनले सहकार्य गरेका हुन् ।
दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस फिल्ममा आलोक शुक्लाको छायांकन छ भने सम्राट बस्नेत द्वन्द्व निर्देशक रहेका छन् । पुष्कर लामाको निर्माण नियन्त्रण रहेको फिल्ममा लेखु सहयात्री र शान भुषालले संगीत संयोजनको काम गरेका छन् ।
फिल्म आगामी फागुनमा प्रदर्शनको लक्ष्यसहित यसै साताबाट पोष्ट प्रोडक्सनको काम सुरु हुने निर्देशक भट्टले बताइन् ।
प्रतिक्रिया दिनुहोस्