२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


इरानमा प्रदर्शनकारीलाई मृत्युदण्डको सजाय


1.066k
Shares

एजेन्सी । इरानमा चकिंदै गएको प्रदर्शनकाबीच एक प्रदर्शनकारीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सोही क्रममा पक्राउ परेका समन सेइदीलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।

उनीमाथि सरकारी भवनमा आगजनी, शान्ति भंग, हत्या, राष्ट्रिय सुरक्षा विरुद्धको अपराध र बन्दुक प्रयोग गरेको अभियोग लगाइएको छ । इरानको एक अदालतले तेहरानमा २२ वर्षीया महसा अमिनीको मृत्युपछि भएको प्रदर्शनसँग सम्बन्धित मुद्दाहरूमा फैसला सुनाएको हो ।

इरानी अदालतले प्रदर्शनमा सहभागी भएका करिब एक हजार नागरिकलाई यसअघि नै दोषी ठहर गरिसकेको छ । इरानको बढ्दो शक्तिबाट असन्तुष्ट भई अमेरिका र इजरायलले दंगा गराएको इरानी अधिकारीहरूको आरोप छ । गलत हिजाब लगाएको आरोपमा पक्राउ परेकी अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा प्रदर्शन भएको हो ।

अदालतले अन्य पाँच प्रदर्शनकारीको मुद्दामा फैसला सुनाएको छ । अभियोग लागेका कतिपयले ५ देखि १० वर्षको जेल सजाय पाएका छन् । गत सेप्टेम्बरमा इरानमा शुरु भएको विरोध प्रदर्शन अझै मत्थर भएको छैन । त्यसक्रममा ४९ बालबालिका सहित ३ सय १८ प्रदर्शनकारी र सुरक्षा बलका ३८ सदस्यको मृत्यु भएको थियो ।