
काठमाडौं । आगामी मंसिर महिनाका लागि बैंकिङ ब्याजदर नघट्ने भएको छ ।
आज मंगलबार बसेको नेपाल बैंकर्स संघको बैठकले मंसिर महिनाका लागि ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो । अझै आर्थिक सूचकहरूको स्थिति सकारात्मक नभएको र तरलतासमेत सहज हुन नसकेको निष्कर्ष निकाल्दै संघले मंसिर महिनाका लागि ब्याजदर यथावत राख्ने निर्णय गरेको संघका उपाध्यक्ष समेत रहनुभएका एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिनुभयो ।
अघिल्लो महिना भद्र सहमतिलाई भंग गर्दै बैंकर्स संघले ब्याजदर निर्धारणको अधिकार बैंकहरुलाई नै दिएको थियो । योसँगै वाणिज्य बैंकहरुले आफू खुशी निक्षेपमा १० प्रतिशतसम्मले ब्याजदर वृद्धि गरेका थिए । व्यक्तिगत मुद्दति बचतको ब्याजदर ११ दशमलव ३ प्रतिशत कायम भएको छ । रेमिट्यान्स खातामा बैंकहरुले १२ दशमलव ३ प्रतिशतदेखि १५ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् ।
निक्षेपको ब्याजदर बढेसँगै यता कर्जाको ब्याजदर बढेर १८ प्रतिशत माथि पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्