
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु लान रोक लगाएको छ ।
आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धि चार बुँदे निर्देशन जारी गरेको हो । मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा जान आग्रह गरिएको छ ।
मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा जाँदा निषेधित वस्तु लिई गएको पाइएमा प्रचलित कानून बमोजिम तत्काल कारबाही गर्न समेत आयोगले निर्देशन दिएको छ । कसैले क्यामरा वा मोबाइल मतदान कक्षमा लिएर गएमा तत्काल त्यस्तो क्यामरा वा मोबाइल जफत हुने पनि आयोगले जनाएको छ ।
प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९, निर्वाचन आचारसंहिता, २०७९ विपरीत कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानून बमोजिम कारबाही गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमार्फत मतदान केन्द्रमा खटिने सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सुरक्षाकर्मीलाई जानकारी गराउन समेत आयोगले भनेको छ ।
प्रतिक्रिया दिनुहोस्