१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कर्णाली प्रदेशको चुनावी हिसाब किताब : कसले बाजी मार्ला कसले हार्ला ?


247
Shares

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारहरु मतदाता फकाउने अन्तिम प्रयास गरिरहेका छन् । कर्णाली प्रदेशमा पनि उम्मेदवारहरु मतदातालाई आ–आफ्नो पक्षमा पार्न घरदैलो र सभा समारोह गरेर खुशी पार्ने प्रयास गरिरहेका छन् । २०७४ को निर्वाचनमा हुम्ला बाहेक अधिकांश प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा एमाले र माओवादी केन्द्रको गठबन्धनले जितेको थियो । हुम्लामा भने स्वतन्त्र उम्मेदवारले जितेका थिए । तर अहिले एमाले र माओवादीको गठबन्धन छैन । कर्णाली प्रदेशमा १२ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र १० वटा जिल्लन रहेका छन् । निर्वाचन आयोगको वेवसाइटमा राखिएको विबरण अनुसार कर्णालीमा कूल मतदाता संख्या ९ लाख ८ हजार ४३३ रहेको छ । जसमा पुरुष मतदाताको संख्या ४ लाख ५९ हजार ४०१ छ । महिलाको संख्या ४ लाख ४९ हजार ३० रहेको छ भने अन्यमा २ जना छन् ।

मंसिर १ गते रातिबाट चुनावी प्रचार प्रसार गर्न नपाइने भएकाले चुनावी अभियान उत्कर्षमा पुग्दै गर्दा कर्णालीमा पनि कसले चुनाव हार्ला र कसले जित्ला भन्ने चासो छ । २०७४ को निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धनले अधिकांश क्षेत्रमा निर्वाचन जित्दा कांग्रेस नील भएको थियो । तर अहिले एमाले र माओवादीको गठबन्धन छैन । अहिले काँग्रेस, माओवादी,नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ । जसलाई बाम लोकतान्त्रिक गठबन्धन भनिएको छ । एमालेले पनि केही साना दलहरुसँग गठबन्धन गरेको छ ।कर्णाली प्रदेशका दश जिल्ला मध्ये सुर्खेत र दैलेखमा दुई–दुई वटा निर्वाचन क्षेत्र छन् भने अरु आठ जिल्लामा एक–एक निर्वाचन क्षेत्र छन् ।

यस्तो छ कर्णाली प्रदेशको चुनावी अवस्था :

सल्यान
कर्णाली प्रदेशको सल्यान जिल्ला एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो । २०७४ मा एमाले र माओवादीबीचको गठबन्धनमा भागवण्डा हुँदा यो जिल्ला माओवादी केन्द्रको भागमा परेको थियो । अहिले भने यो बाम लोकतान्त्रिक गठबन्धनमा नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । समाजवादीका तर्फबाट गठबन्धनका साझा उम्मेदवारका रुपमा प्रकाश ज्वाला उम्मेदवार हुनुहुन्छ । एमाले विभाजन अघि ज्वाला एमालेमा हुनुहन्थ्यो । ज्वालालाई गठबन्धनको भर छ भने नेकपा एमाललेका तर्फबाट उम्मेदवार बन्नु भएका राजेन्द्रबीर रायलाई गठबन्धनको डर छ । ज्वाला सल्यानमा चिनिएका अनुहारमा पर्नुहुन्छ । सल्यानमा २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका टेक बहादुर बस्नेत ४० हजार ८९७ मत ल्याएर विजयी बन्दा काँग्रेसका राजेन्द्र बहादुर शाहलाई २९ हजार ७६७ मत आएको थियो ।

डोल्पा

डोल्पा पनि सल्यान जस्तै एकमात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जिल्ला हो । २०७४ मा एमालेबाट चुनाव जित्नु भएका धनबहादुर बुढा एमाले विभाजन पछि नेकपा एकीकृत समाजवादीतिर लागेपछि एमालेले गणेश बहादुर शाहीलाई चुनावी मैदानमा खडा गरेको छ भने समाजवादीबाट बाम लोकतान्त्रिक गठबन्नको साझा उम्मेदवारका रुपमा धनबहादुर नै उम्मेदवार हुनुहुन्छ । यहाँ कसले बाजी मार्ने हो त्यो आगामी चुनावी नतिजाले नै देखाउँनेछ । २०७४ मा धनबहादुरले ११ हजार ७६१ मत ल्याएर चुनावी नतिजा आफ्नो पक्षमा पार्दा नेािली काँग्रेसका अंगद बुढालाई ३ हजार १६७ मत प्राप्त भएको थियो ।

मुगु

सल्यान र डोल्पा जस्तै मुगु पनि कर्णाली प्रदेशको एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला हो । नेकपा एमाले र बाम लोकतान्त्रिक गठबन्धन दुवैले मुगुमा यसपटक नयाँ अनुहारलाई प्रतिनिधि सभामा टिकट दिएका छन् । एमालेले राजबहादुर कार्कीलाई उठाएको छ भने गठबन्धनले साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसका ऐन बहादुर शाहीलाई मैदानमा उतारेको छ । २०७४ मा एमाले र माओवादी गठबन्धन हुँदा यो जिल्ला एमालेको भागमा परेको थियो । त्यतिबेला एमालेका गोपाल बहादुर बमले १३ हजार ३४ मत ल्याएर विजयी बन्दा काँग्रेसका हस्त बहादुर मल्ललाई ९हजार ८६१ मत आएको थियो । तर अहिले त्यो अवस्ता उल्टिएको छ । गठबन्धनमा काँग्रेस र माओवादी लगायत छन् ।

जुम्ला

एकमात्र निर्वाचन क्षेत्र भएको जुम्लामा यस पटक रोचक चुनावी भिडन्त हुने अनुमान गरिएको छ । एमालेले जुम्लामा रतन नाथ योगीलाई टिकट दिएको छ । उता बाम लोकतान्त्रिक गठबन्धनमा जुम्ला माओवादीको भागमा परेको छ । माओवादीकि गोमा कुँवर गठबन्धनको साझा उम्मेदवारका रुपमा हुनुहुन्छ । राप्रपाबाट ज्ञान बहादुर शाही ( ज्ञानेन्द्र) उम्मेदवार बन्नु भएको छ । २०७४ मा माओवादी केन्द्रका गजेन्द्र बहादुर महत २२ हजार १७३ मत ल्याएर विजयी हुनुभएको थियो । काँग्रेसका देवेन्द्र बहादुर शाहीलाई १४ हजार १४९ मत आएको थियो ।

कालिकोट

कालिकोटमा पनि एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको छ । २०७४ मा एमाले माओवादी गठबन्धन हुँदा यो जिल्ला माओवादीको भागमा परेको थियो । अहिले काँग्रेस सहितको बाम लोकतान्त्रिक गठबन्धनमा पनि यो माओवादीकै भागमा परेको छ । एमालेले अहिले नगीन्द्र शाहीलाई उम्मेदवार बनाएको छ भने बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मदेवारका रुपमा माओवादीका महेन्द्र बहादुर शाही चुनावी मैदानमा हुनुहुन्छ । महेन्द्र कर्णाली प्रदेशको मुख्यमन्त्री पनि भैसक्नु भएको थियो भने उहाँ बिगतमा संविधान सभा सदस्य पनि हुनुहुन्थ्यो । २०७४ को निर्वाचनमा दुर्ग बहादुर रावतले २१ हजार ११२ मत ल्याएर विजयी बन्दा काँग्रेसका भुपेन्द्र जंग शाहीलाई १६ हजार ४०७ मत आएको थियो ।

हुम्ला

कर्णाली प्रदेशको हुम्ला जिल्लामा पनि एकमात्र निर्वाचन क्षेत्र रहेको छ । २०७४ मा यो जिल्लामा स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामाले जित हात पार्नु भएको थियो । त्यसबेला काँग्रेसका मंगलबहादुर शाही झिनो मतले लामासँग पराजित हुनुभएको थियो । अहिले बाम लोकतान्त्रिक गठबन्धनमा यो जिल्ला माओवादी केन्द्रको भागमा परेको छ । गठबन्धनबाट साझा उम्मेदवारका रुपमा माओवादीका छिरिङ डम्डुल लामा भोटे उम्मेदवार हुनुहुन्छ भने एमालेले दल रावललाई मैदानमा उतारेको छ । २०७४ मा छक्क बहादुर लामाले ४ हजार ४९१ मत ल्याएर जित्दा मंगलबहादुर शाहीलाई ८ हजार ४४४ मत आएको थियो ।

जाजरकोट

एक मात्रै निर्वाचन क्षेत्र रहेको जाजरकोटमा २०७४ मा एमाले माओवादी गठबन्धन हुँदा यो जिल्ला माओवादीको भागमा परेको थियो भने अहिले बाम लोकतान्त्रिक गठबन्धनमा पनि माओवादीकै भागमा परेको छ । माओवादीले विगतकै अनुहार शक्ति बहादुर बस्नेतलाई गठबन्धनको साझा उम्मेदवार बनाएको छ । बस्नेत माओवादीका केन्द्रीय नेता हुनुहुन्छ । उता एमालेले निरज आचार्यलाई उठाएको छ । २०७४ मा बस्नेतले ३२ हजार २८१ मत ल्याएर काँग्रेसमा राजीव विक्रम शाहलाई पराजित गर्नु भएको थियो । काँग्रेसका शाहलाई २३ हजार २८९ मत आएको थियो ।

दैलेख
दैलेखमा दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन् । २०७४ को निर्वाचनमा एमाले र माओवादी गठबन्धनबीच भागवण्डा हुँदा दुबै क्षेत्र एमालेको भागमा परेको थियो । यस पटक बाम लोकतान्त्रिक गठबन्धनमा क्षेत्र नम्बर –१ नेकपा एकीकृत समाजवादी र क्षेत्र नम्बर –२ नेपाली काँग्रेसको भागमा परेको छ ।

क्षेत्र नम्बर – १ मा एमालेले पुरानै अनुहार रबिन्द्र राज शर्मालाई दोहोर्याएको छ भने बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवारका रुपमा नेकपा एकीकृत समाजवादीका अम्बर बहादुर थापा मैदानमा हुनुहुन्छ । २०७४ मा एमालेका शर्माले २३ हजार ७७३ मत ल्याउँदा राप्रपाका दिपक कुमार शाहीलाई १७ हजार २५२ मत आएको थियो ।

यस्तै क्षेत्र नम्बर –२ मा एमालेले लक्ष्मी प्रसाद पोखरेललाई टिकट दिएको छ । बाम लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका दिक्पाल कुमार शाही साझा उम्मेदवार हुनुहुन्छ । यो क्षेत्रमा २०७४ को निर्वाचनमा एमालेका राजबहादुर बुढा क्षेत्रीले २३ हजार ३२३ मत ल्याएर निर्वाचिन हुँदा काँग्रेसका शिवराज जोशीलाई १६ हजार ६३४ मत आएको थियो ।

सुर्खेत

दैलेख जस्तै कर्णाली प्रदेशको सुर्खेत जिल्लामा पनि दुइवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन् । क्षेत्र नम्बर –१ मा एमाले र बाम लोकतान्त्रिक गठबन्धनबाट यस पटक पुरानै अनुहार दोहोरिएका छन् । यो क्षेत्रमा एमालेबाट ध्रुव बहादुर शाही उम्मेदवार हुनुहुन्छ भने काँग्रेसबाट पार्टीका केन्द्रीय उपसभापति समेत रहनु भएका पूर्ण बहादुर खड्का मैदानमा हुनुहुन्छ । त्यसैले पनि यो क्षेत्रको निर्वाचन निकै रोचक हुने अनुमान गरिएको छ । शाही बिगतमा एमाले र माओवादी गठबन्धनका उम्मेदवार हुनुहुन्थ्यो भने अहिले एमालेसँग त्यो गठबन्धन छैन । तर खड्कासँग अहिले माओवादी सहितको बाम लोकतान्त्रिक गठबन्धन छ । २०७४ को निर्वाचनमा शाहीले ३६ हजार ७५९ मत ल्याएर विजयी बन्दा खड्काले ३३ हजार ३७७ मत प्राप्त गर्नुभएको थियो ।

सुर्खेत क्षेत्र नम्बर–२ मा बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका हृदयराम थानी दोहोरिनु भएको छ । उता एमालेले अमृत बहादुर बुढा क्षेत्रीलाई उम्मेदवार बनाएको छ । २०७४ मा एमालेका नवराज रावतले ३७ हजार ४४७ मत ल्याएर नतिजा आफ्नो पक्षमा पार्दा काँग्रेसका थानीलाई २८ हजार ६४६ मत आएको थियो । एमालेसँग त्यतिबेला माओवादीको साथ थियो । तर अहिले माओवादीको साथ काँग्रेसलाई छ ।

रुकुम पश्चिम

रुकुम पश्चिममा पनि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको छ । यो जिल्लाबाट बाम लोकतान्त्रिक गठबन्धनबाट अर्थमन्त्री समेत रहनु भएका जनार्दश शर्मा उम्मेदवार हुनुहुन्छ । बिगतमा एमाले र माओवादीबीच गठबन्धन हुँदा पनि शर्मा नै उम्मेदवार हुनुहन्थ्यो । रुकुममा पश्चिममा एमालेले नन्दराम देवकोटालाई टिकट दिएको छ । २०७४ को निर्वाचनमा शर्माले ३४ हजार ४०२ मत ल्याउँदा शर्माका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका गोपालजीजंग शाहले १५ हजार ६५९ मत मात्रै प्राप्त गर्नु भएको थियो ।