१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दैलेखमा मतदान अधिकृतले मतपेटिका प्रहरी चौकीमा छाेडेपछि विवाद


91
Shares

दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकामा मतदान अधिकृतले मतदान सकिएपछि मतपेटिका प्रहरी चौकीमा लगेर छाडेर गएपछि विवाद सिर्जना भएको छ ।

मतदान अधिकृतले मतपेटिकासँगै दुल्लुमा भएको निर्वाचन कार्यालयमा बुझाउनु पर्नेमा निर्वाचन भएको ठाउँमा रहेको प्रहरी चौकीमा छाडेपछि विवाद भएको छ । ठाँटीकाँध गाउँपालिका वडा नम्बर २ पिपलचौतारास्थित जनता आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत ज्वालाप्रसाद खनालले प्रहरी चौकीमा मतपेटिका छाेड्नु भएकाे हाे ।

उहाँले आइतबार राति प्रहरी चौकीमा लगेर मतपेटिका छाड्नु भएकाे थियाे । अहिलेसम्म पनि सोही कारणले गर्दा विवाद भएको छ । दैलेखका मुख्य निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले घटनाको छानबिन भइरहेको बताउनुभएकाे छ । लापरबाही वा जानीजानी भएको भन्ने बारेमा बुझ्न बाँकी रहेकाे उहाँले बताउनुभयाे । अहिले सर्वदलीय बैठक बसिरहेको छ । साेही घटनाकाे बारेमा निर्णयमा पुगिने उहाँले जानकारी दिनुभयाे ।

निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत रहेको उक्त मतदान केन्द्रमा ७ सय मतदाता रहेकोमा ४ सय ५८ मत खसेको थियो ।