
काठमाडौं । आइतबार सम्पन्न संसदीय निर्वाचनको मतगणना देशभर धमाधम सुरू भएको छ ।
गणना भइरहेका विभिन्न क्षेत्रहरूको प्रारम्भिक मत गणनामा भने नेकपा एमालेले धेरै क्षेत्रमा अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी दोस्रो र कांग्रेस तेस्रो स्थानमा रहेर अग्रता लिएका छन् । एमालेले अहिलेसम्म ८ वटा क्षेत्रमा अग्रता लिदा राष्ट्रिय स्वतन्त्र पार्टीले र कांग्रेसले ४–४ स्थानमा अग्रता लिएको छ । त्यसैगरी राप्रपा दुई र जनमत पार्टीले एक क्षेत्रमा अग्रता लिएका छन् ।
यसैबीच मतगणना भइरहेका काठमाडौंका पाँच निर्वाचन क्षेत्रमध्ये तीनवटामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले काठमाडौं क्षेत्र नम्बर ६, ७ र ८ मा अग्रता लिएका हुन् । काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठले प्रतिस्पर्धीहरुलाई पछि पारेका छन् ।
काठमाडौं–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष पुकार बम तेस्रो स्थानमा छन् । काठमाडौं–४ मा नेपाली कांग्रेसका गगन थापाले अग्रता लिएका छन् र यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पनि छैनन् । अहिले काठमाडौं १, ४, ६, ७ र ८ मा मतगणना भइरहेको छ ।
ललितपुरका तीन निर्वाचन क्षेत्रमा मतगणना भइरहेकोमा सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू तेस्रो स्थानमा छन् । ललितपुर–१ मा सचिनकुमार घिमिरे, २ मा बुद्धरत्न महर्जन र ३ मा तोसिमा कार्की तेस्रो स्थानमा छन् ।
मतगणना भइरहेको भक्तपुर–२ मा कांग्रेस र एमालेको प्रतिस्पर्धा छ ।
प्रतिक्रिया दिनुहोस्