
बिराज रोस्यारा (इमेज)
कैलाली, भदौ ८ । कन्चनपुरको भीमदत्तनगरमा भएको झडपमा परी घाइते भएकाहरुको सम्पूर्ण उपचार खर्च प्रदेश नम्बर–७ को सरकारले व्यहोर्ने भएको छ ।
विभिन्न अस्पतालमा उपचार गराइरहेका घाइतेहरुको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर जनाएको छ ।
कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनालाई लिएर भीमदत्तनगरमा भइरहेको विरोध प्रदर्शनप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकार्षण भएकोसमेत विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश–७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकर अर्यालले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित पाँच सदस्यीय उच्चस्तरीय छानबिन टोलीले महेन्द्रनगर पुगेर छानबिनकार्य सुरु गरिसकेको जानकारी दिए ।
यसैगरी, मन्त्रालयले सबै पक्षलाई संयमित हुन आग्रह गर्दै शान्ति सु–व्यवस्था कायम राखी जनधनको क्षति हुनबाट रोक्नका लागि आ–आफ्नो स्थानबाट सहयोग गर्नसमेत अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्