
काठमाडौं । यही मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत संघीय संसदको प्रत्यक्षतर्फको नतिजा अन्तिमतिर पुगेको छ ।
प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये अन्तिम परिणाम सार्वजनिक भएका १४३ स्थानको नतिजा आउँदा नेपाली कांग्रेस ४७ सिटमा विजय हासिल गर्दै पहिलो दलका रुपमा देखा परेको छ ।
नेकपा (एमाले) ३८ स्थानमा विजयी हुँदै दोस्रो स्थानमा रहेको छ । सत्ता गठबन्धनमा रहेका दलहरु नेकपा (माओवादी केन्द्र) ले १६ र नेकपा (एकीकृत समाजवादी) ले १० स्थानमा जित निकाल्न सफल भएका छन् ।
निर्वाचनको संघारमा गठन भएर संसदीय चुनावमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी ७ स्थानमा विजयी भएको छ । एमालेसँग चुनावी तालमेल गरेर चुनावी प्रतिष्पर्धामा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ६ र जनता समाजवादी पार्टी (जसपा) नेपाल ५ क्षेत्रमा विजयी हुँदा सत्ता गठबन्धनसँग तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाले क्रमशः ४ र १ सिट जितेका छन् ।
यस्तै नागरिक उन्मुक्ति पार्टीले ३, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) १–१ प्रतिनिधिसभा आप्mनो पक्षमा पार्न सफल भएका छन् । हालसम्म मतगणना सम्पन्न भएका क्षेत्रमध्ये ५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारहरु निर्वाचित भएका छन् ।
यसैबीच, पछिल्लो मत परिणाम अनुसार हुम्लाबाट नेकपा माओवादी केन्द्रका छिरिङ डम्दुल लामा १४ हजार ३७१ मत सहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका दल रावलले ९ हजार ५१६ मत पाउनुभएको छ ।
यस्तै चितवन निर्वाचन क्षेत्र न. ३ मा राप्रपाका विक्रम पाण्डे ३४ हजार ३६२ मतसहित विजयी हुनु भएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २४ हजार ६७१ मत पाउनुभएको छ । सिरहा क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका राजकिशोर यादव २४ हजार १७८ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवले २३ हजार २८ मत पाउनुभएको छ ।
यता तेह्रथुमबाट नेपाली कांग्रेसकी सीता गुरुङ १९ हजार ७०२ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका विजय सुब्बाले १८ हजार ६२३ मत पाउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्