
काठमाडौं । रुसले ८ महिनाअघि कब्जामा लिएर २ साता अघिमात्र फिर्ता गरेको युक्रेनको खेरसन शहरमा दोस्रो दिन पनि आक्रमण गरेकाे छ ।
युक्रेनका अधिकारीहरुले रुसले जारी राखेको आक्रमणमा कम्तिमा १० जनाको मृत्यु भएको छ भने कयौं भौतिक संरचनाहरुमा क्षति भएको छ । आक्रमणमा परेर ५० भन्दा बढी सर्वसाधारण घाइते भएको बताइएको छ । खेरसन क्षेत्रका गभर्नर यारोस्लाभ यानुशेभिचले दोस्रो दिन मात्र ५४ पटक गोलाबारी भएको बताउनुभयो । उहाँले आक्रमणबाट निजी अपार्टमेन्टहरु, विद्यालय, सरकारी संरचना लगायतमा ठूलो क्षति भएको बताउनुभयो ।
आक्रमणकारीले ग्याँस पाइप तथा अन्य आणविक संरचनाहरुलाई लक्षित गरी आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (आईएइए) ले यसै हप्ताको सुरुमा क्षतिग्रस्त भएका ४ वटा आणविक उर्जा केन्द्र पुनः सञ्चालनमा ल्याएको थियो । युक्रेनको इतिहासमा पहिलो पटक गत बुधबार सबै उर्जा केन्द्रहरुको उत्पादन बन्द भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्की कीभको उत्तरी कीभस्थित व्यासोरोड सहरमा रुसी आक्रमणपछि भएको क्षतिकाे बारेमा अनुगमन गर्न गएको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् । उहाँले अत्यावश्यक सुविधा उपलब्ध गराउन स्थापना गरिएका आपत्कालिन केन्द्रहरुको पनि अवलोकन गरेको समाचारमा जनाइएको छ ।
यसैबीच पश्चिमी देशहरुले युक्रेनलाई समर्थन गर्ने प्रतिवद्धता जनाएका छन् । नाटो प्रमुख जेन्स स्टोलटेनबर्गले युक्रेनमाथिको समर्थन जारी राख्ने बताउनुभएको छ । उहाँले आगामी हप्ता रोमानियामा हुने विदेशमन्त्रीस्तरिय बैठकपछि युक्रेनलाई सैन्य तथा हवाई सहायता बढाउने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्