१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रधानमन्त्रीसहित ६ मन्त्री प्रतिनिधि सभा सदस्यमा निर्वाचित, पाँच मन्त्री पराजित

'तीन जना उम्मेदवार रहेको क्षेत्रमा मत गणना जारी'

611
Shares

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा प्रधानमन्त्रीसहित सरकारका ६ मन्त्री निर्वाचित भएका छन् । निर्वाचनको पछिल्लो मत परिणाम अनुसार हालसम्म पाँच जना मन्त्री पराजित भएका छन् भने तीन मन्त्री उम्मेदवार बनेको स्थानमा मतगणना जारी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा क्षेत्र नं १ बाट १२ हजार चार सय ३२ मतान्तरसहित विजयी हुनुभएको छ । उहाँले २५ हजार पाँच सय ३४ मत प्राप्त गर्दा निकटम् प्रतिद्वन्द्वी स्वन्तन्त्र उम्मेदवार सागर ढकालले १२ हजार ४२ मत प्राप्त गर्नुभयो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर अछाम निर्वाचन क्षेत्र नं १ बाट १९ हजार पाँच सय ३४ मतसहित विजयी हुनुभयो । उहाँले एमालेका झपट बोहोरालाई चार हजार चार सय ८९ मतान्तरले पराजित गर्नुभएको छ ।

यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू २८ हजार पाँच सय १५ मतसहित दार्चुला क्षेत्र नं १ बाट विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका गणेशसिंह ठगुन्नाले २६ हजार तीन सय ८१ मत प्राप्त गर्नुभयो ।

अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिम क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको छ । उहाँले ३९ हजार पाँच सय ४९ मत प्राप्त गर्नुभयो । यसैगरी, सहरी विकास मन्त्री मेटमणि चौधरी दाङ निर्वाचन क्षेत्र नं १ बाट पाँच हजार ८३ मतान्तरसहित विजयी हुँदा एमालेकी शान्ता चौधरी पराजित हुनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बागलुङ-२ बाट २४ हजार सात सय ७९ मतसहित विजयी हुनुभएको छ ।

गत आइतबार सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फको मतगणना केही स्थानमा अझै जारी छ । परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का उम्मेदवार रहेको उदयपुर क्षेत्र नं १ को मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार खड्काले २१ हजार ८३३ मत पाउँदा एमालेकी मन्जु चौधरीले २० हजार १२० मत पाउनु भएको छ ।

यस्तै गृहमन्त्री बालकृष्ण खाँण र सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले पछाडि पर्नुभएको छ । रुपन्देही–३ बाट उम्मेदवार रहेका गृहमन्त्री खाँणले ३१ हजार ६ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवार दीपक बोहोराले ३२ हजार ८४८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, सुनसरी–४ बाट उम्मेदवार बनेका सञ्चारमन्त्री कार्कीले २० हजार ४२५ मत प्राप्त गर्दा एमालेका जगदीशप्रसाद कुसियतले २० हजार ५५७ मत प्राप्त गर्नुभएको छ ।

यसपटकको निर्वाचनमा पाँच मन्त्री पराजित भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, खानेपानी मन्त्री उमाकान्त चौधरी, युवा तथा खेलकूद मन्त्री महेश्वरराज गहतराज, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ निर्वाचनमा पराजित भएका छन् ।