
काठमाडौं । साताव्यापी रामजानकी विवाह पञ्चमी महामहोत्सव अन्तर्गत आज शनिबार फूलबारी लिला मनाइएको छ ।
फूलबारी लिलामा भगवान राम र लक्ष्मणको प्रतिकका रूपमा एक जोडी बालबालिकालाई विवाहमण्डप प्राङ्गणमा रहेको फूलबारीमा घुमाइने गरिन्छ । सप्ताहव्यापी रूपमा मनाइने महोत्सवको पहिलो दिन नगरदर्शन सम्पन्न भएको थियो । त्रेतायुगमा भगवान राम र लक्ष्मण जनकपुरधाम आएको बेला फूलबारीमा घुम्न जाँदा सखीसहेलीसँग फूल टिप्न आएकी जानकीसँग पहिलो भेट भएको भन्ने कथन रहेकाे छ ।
विवाह पञ्चमी महोत्सवमा फूलबारीमा घुमाउँदै राम र सिताको भेटघाट गराउने चलन रहेको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले जानकारी दिनुभयो । मिथिलाको उत्सव मध्ये विवाह पञ्चमीलाई महामहोत्सवका रूपमा भव्यरूपमा साथ मनाउने गरिन्छ । त्रेतायुगमा भगवान राम र सिताको विवाह भएको सम्झनामा जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव मनाइँदै आएको छ ।
महामहोत्सव अन्तर्गत धनुषयज्ञ, तिलकोत्सव, मटकोर, स्वयंवर र अन्तिम दिन रामकलेवा गरी यस वर्षको सिताराम विवाहपञ्चमी सम्पन्न हुने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्