१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एनसेलले थाल्यो ई–सिम वितरण


767
Shares

काठमाडौं । एनसेलका ग्राहकहरुले अब आफ्नो सिम ई–सिममा अपग्रेड गर्नसक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले शुक्रबारदेखि आफ्ना ग्राहकहरुलाई ई–सिम वितरण गर्न थालेको घोषणा गरेको हो । यससँगै ग्राहकले ई–सिम चल्ने मोबाइलमा ई–सिमको प्रयोग मार्फत फाइदा लिन सक्छन् ।

ई–सिम अर्थात इम्बेडेड सिम हाल प्रयोग भइरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो । यो सिम ई–सिम सपोर्ट गर्ने मोबाइल वा उपकरण भित्र सानो चिपमा हुन्छ र यसबाटै दूरसञ्चार सेवा लिन सकिन्छ । यो भौतिक रुपमा प्रयोग हुने सिम भन्दा सुरक्षित मानिन्छ र केही गरी आफ्नो मोबाइल हराएमा वा चोरी भएमा पनि ई–सिम सो मोबाइलबाट झिक्न वा हटाउन मिल्दैन ।

एनसेलका ग्राहकहरूले एसएमएसमार्फत अनुरोध पठाई सजिलै आफ्नो हाल प्रयोग भइरहेको सिम ई–सिममा अपग्रेड गर्न सक्छन् । यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनु पर्दछ । ई–सिम सुचारु गर्नु भन्दा पहिला ग्राहकले एनसेलको प्रतिनिधिबाट ग्राहक पहिचानका लागि कल प्राप्त गर्दछन् । यो एसएमएस पठाउन र सिम अपग्रेड गर्नका लागि कुनै शुल्क लाग्ने छैन ।

ग्राहकले आफुलाई पायक पर्ने नजिकैको एनसेल सेन्टरबाट पनि आफ्नो सिम ई–सिममा अपग्रेड गर्न सक्छन् । नयाँ ग्राहकहरुले पनि कुनै पनि एनसेल सेन्टरबाट आफुले चाहेको स्टार्टर प्याकका साथ आवश्यक प्रक्रिया पुरा गरि ई–सिम लिन सक्ने एनसेलले जनाएको छ ।

ई–सिम सुविधा लिनका लागि, ग्राहकहरूका साथमा ई–सिम सपोर्ट गर्ने मोबाइल हुन आवश्यक हुन्छ । ग्राहकहरूले आफ्नो मोबाइल ई–सिम चल्ने/नचल्ने थाहा पाउन एस्ट्रिक्सह्यास ०६ ह्यास डायल गर्न सक्छन् । यदि इम्बेडेड आईडेन्टिटी डकुमेन्ट (ईआईडी) सहितको विवरण ग्राहकको डिस्प्लेमा आएमा त्यस्तो मोबाइलमा ई–सिम चल्छ ।

ग्राहकलाई सेवा प्रदान गर्न नयाँ प्रविधि र सेवाहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धताअनुरूप चल्ने सुविधा सञ्चालनमा ल्याउन पाउँदा कम्पनी खुसी रहेको एनसेलले बताएको छ । उपभोक्ता र व्यवसायदुवै माझ कनेक्टेड डिभाइसहरुको प्रयोग बढ्ने क्रममा रहेकाले ई–सिमले सूचनातथा सञ्चार प्रविधिको विकासमामहत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।

आइफोनका पछिल्ला मोडलहरु जस्तै आइफोन एक्सएस सिरिज, आइफोन ११ सिरिज, आइफोन १२ सिरिज, आइफोन १३ सिरिज र आइफोन १४ सिरिजमा ई–सिमको सुविधा रहेको छ । त्यसैगरी, सामसङको ग्यालेक्सी ए २१ सिरिज, ग्यालेक्सी ए २२ सिरिज, ग्यालेक्सी जेड फ्लिपसिरिज र गुगलको पिक्सल ४ सिरिज, पिक्सल ५ सिरिज र पिक्सल ६ सिरिजमा पनि ई–सिमको चल्ने सुविधा रहेको हुन्छ ।