२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


फ्रान्स विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलमा आज ४ खेल हुुँदै

104
Shares

काठमाडौं । डेनमार्कलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको नक आउट चरणमा पुगेको छ ।

शनिबार राति भएको खेलमा डेनमार्कलाई २–१ ले हराउँदै फ्रान्स कतारमा जारी फिफा विश्वकपको राउण्ड अफ सिक्सटिनमा पुग्ने पहिलो टोली बनेको हो । डेनमार्क विरूद्धको खेलमा फ्रान्सलाई विजयी गराउन किलियन एम्बाप्पेले दुई गोल गरेका हुन् । डेनमार्कको लागि क्रिश्चियनसनले एक गोल फर्काएका छन् ।

जितसँगै फ्रान्सले समूह ‘डि’ मा दुई खेलबाट ६ अंक जोडेको छ । समान खेलबाट ३ अंक जोडेको अष्ट्रेलिया दोस्रो स्थानमा रहेकाे छ । अष्ट्रेलियाले शनिबार भएको खेलमा ट्युनिसियालाई १–० ले पराजित गरेकाे छ । शनिबार राति भएको अर्को खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले पराजित गरेकाे छ।

अर्जेन्टिनाको लागि निकै महत्वपूर्ण यो खेलमा लियोनल मेस्सी र इन्जो फर्नान्डेजले १– १ गोल गरेका छन्। जितसँगै अर्जेन्टिनाले नकआउट चरणमा पुग्ने सम्भावना जिवित पारेको छ । समूहमा दुई खेलबाट अर्जेन्टिनाको ३ अंक भएको छ । ४ अंक जोडेको पोल्याण्ड शीर्ष स्थानमा रहँदा ३ अंकसहित साउदी अरबिया तेस्रो स्थानमा रहेकाे छ । शनिबारको खेलमा पोल्याण्डले साउदी अरबियालाई २–० ले पराजित गरेकाे हो ।

विश्वकप फुटबलमा आज आइतबार ४ खेल हुने भएका छन् । आइतबार अपराह्न पौने ४ बजे सुरु हुने खेलमा जापान र कोस्टा रिकाबीच प्रतिस्पर्धा हुने भएकाे छ । आइतबार साँझ पौने ७ बजे बेल्जीयमले मोरक्कोसँग खेल्ने भएकाे छ । यसैगरी आइतबार बेलुकी पौने १० बजे क्रोएसिया र क्यानाडाबीच प्रतिस्पर्धा हुने भएकाे छ । राती पौने १ बजे स्पेनले जर्मनीको सामना गर्ने भएकाे छ ।