२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


केही दिनमै मेलम्चीको पानी काठमाडौंमा


533
Shares

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले काठमाडौंमा पानी वितरणका लागि अस्थायी बाँध बनाएर सुरुङमा पानी पठाउन सुरु गरेको छ ।

सोमबारदेखि २६ किलोमिटर लामो सुरुङमा मेलम्ची नदीको पानी पठाउने काम सुरु भएको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो । अबको केही दिनमा मेलम्चीको पानी काठमाडौंको थोक वितरण प्रणालीमा पठाइने छ र लगत्तै वितरणका लागि उपलब्ध हुने उहाँले बताउनुभयो ।

बाढीले क्षति पुगेको आयोजना स्थलमा बालुवा, ढुङ्गा लगायत हटाएर अस्थायी बाँध बनाएर पानी पठाउन सुरु गरिएको आयोजनाले जनाएको छ । एकसाता भित्रमा सुन्दरीजलमा पानी पुगेपछि प्रशोधन गरेर वितरण केन्द्रमा पठाइने पन्तले जानकारी दिनुभयो । पानी प्रशोधन भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले नयाँ तालिका बनाएर पानी वितरण कार्यलाई अघि बढाउनेछ ।

२०७८ साल असारमा आएको बाढी पहिरोले मेलम्ची आयोजना स्थलमा क्षति पुगेपछि पानी आउन बन्द भएको थियो । गत वैशाखमा अस्थायी बाँध बनाएर काठमाडौं पानी पठाउन थालिए पनि १ महिनापछि गत जेठदेखि सुरुङको बन्द गरेर पानी पठाउन रोकिएको थियो । पुनः अस्थायी बाँध हालेर काठमाडौंमा पानी पठाउन थालिएको हो ।

अब हिउँदयामभरी मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौंका धारामा आउने मेलम्ची खानेपानी आयोजनाको भनाइ छ ।