१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुनसरी-४ को मतगणना सुचारू गर्न सर्वदलीय बैठक बस्दै


221
Shares

सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा ३ दिनदेखि रोकिएको मतगणना आज मंगलबारबाट सुरू हुने भएको छ ।

निर्वाचन आयोगले मतगणना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीलाई निर्देशन दिएपछि सर्वदलीय बैठक बसेर मतगणना सुचारू गर्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयाे । मतगणनामा खटिएका कर्मचारीले ६ सय ६ मत काल्पनिक मत नेकपा एमालेका उम्मेदवार जगदीश कुसियतको गणना गरेको आरोप लगाउदै नेपाली कांग्रेसले बिरोध गरेपछि मतगणना रोकिएको थियो ।

यस क्षेत्रमा एमालेका कुसियत र संचारमन्त्री समेत रहनुभएका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की चुनावी प्रतिस्पर्धामा छन । कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का निर्वाचन परिचालन समितिका संयोजक रेवती दुलालले काल्पनिक ६ सय ६ मत रद्द गर्ने र गन्न बाँकी रहेको मतगणना गर्ने तयारी भइरहेको बताउनुभयाे । प्रमुख जिल्ला अधिकारी यादवले सर्वदलीय बैठकबाट सहमति गराएर मतगणना सुरू गर्ने बताउनुभयाे ।

उहाँले विवाद बढेका कारण मतगणना स्थल इनरूवाको भगवती माविमा प्रयाप्त सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयाे। अहिलेसम्म गरिएको मत गणनामा कांग्रेसका उम्मेदवार कार्कीले २३ हजार ४ सय ३९ मत र एमालेका उम्मेदवार कुसियतले २३ हजार ३ सय ४१ मत प्राप्त गरेका छन् । ६० हजार मतगणना सम्पन्न भएको र २१ हजार मतगणना भने गर्न बाँकी रहेको छ ।