
काठमाडौं । नेदरल्याण्ड्स, सेनेगल, इंग्ल्याण्ड र अमेरिका कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेका छन् ।
मंगलबार राति भएको आफ्नो समुहको अन्तिम खेलमा आयोजक कतारलाई २–० ले हराउँदै नेदरल्याण्ड्स नकआउट चरणमा पुगेको हो । खेलमा नेदरल्याण्ड्सलाई विजयी गराउन कोडी गाक्पो र फ्रेङ्की डे योङले एक एक गोल गरे ।
यहि समुहको अर्को खेलमा सेनेगल इक्वेडरलाई २–१ ले पराजित गर्दै नकआउट चरणमा पुगेको हो । सेनेगलको लागि इस्माइला सार र कालिदु काउलीबालीले एक एक गोल गर्दा इक्वेडरका काइसेडोले एक गोल फर्काए ।
समुह ए बाट नेदरल्याण्ड्स ७ अंकसहित विजेता तथा सेनेगल ६ अंकसहित उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् ।
यसैगरी, समुह बी को खेलमा इंग्ल्याण्ड वेल्सलाई ३–० ले हराउँदै नकआउट चरणमा पुगेको हो । इंग्ल्याण्डका लागि मार्कस रास्फोर्डले दुई गोल गर्दा फिल फोडेनले एक गोल थपे ।
यहि समुहको अर्को खेलमा अमेरिका इरानलाई १–० ले हराउँदै नकआउट चरणमा पुगेको हो । अमेरिकाको जितमा क्रिश्चियन पुलिसिकको गोल निर्णायक बन्यो ।
यो समुहमा ७ अंक जोडेको इंग्ल्याण्ड समुह विजेता बन्दा ५ अंकसहित अमेरिका उपविजेता बन्यो । ३ अंक जोडेको इरान तथा एक अंक जोडेको वेल्स समुह चरणबाटै बाहिरिएका छन् ।
विश्वकप फुटबलको नकआउट चरणमा नेदरल्याण्ड्सले अमेरिकाको सामना गर्दा इंग्ल्याण्डको भिडन्त सेनेगलसँग हुनेछ ।
प्रतिक्रिया दिनुहोस्