
काठमाडौं । यही मंसिर ४ गते धाँधलीका कारण स्थगित भएको दोलखाका १० वटा मतदान केन्द्रमा आज बिहीबार मतदान हुने भएको छ ।
ती मतदान केन्द्रमा पुनः मतदानका लागि सबै तयारी गरिएको र करिब आठ हजार मतदाताले पुनः मतदान गर्न पाउने दोलखास्थित मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभएको छ ।
निर्वाचन आयोगको यही मंसिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका वडा नम्बर ६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रका क, ख, ग, वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्रका क र ख, तामाकोसी गाउँपालिका वडा नम्बर ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात वटा मतदान केन्द्रमा पुनः मतदान गराउने निर्णय गरेको थियो ।
आयोगले वैत्यश्वरको वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्रमा पनि धाँधली भएको ठहर गर्दै आयोगले दोलखास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पुनः मतदानका लागि निर्देशन दिएको थियो ।
यस्तै, स्याङ्जा क्षेत्र नम्बर २ को मत गणना बुधबारदेखि सुरू भएको छ ।
चापाकोट नगरपालिकामा धाँधली भएको भन्दै नेपाली कांग्रेस बाहेक अन्य दलहरुले पुनः मतदानको माग गरेकाले मत गणना सुरू हुनै सकेको थिएन । तर निर्वाचन आयोगको टोलीले स्थलगत अध्ययन रिपोर्टका आधारमा मत गणना सुरू गर्न निर्देशन दिएपछि बुधबारदेखि मत गणना सुरू गरिएको हो ।
सुरूवाती चरणमा एमाले उम्मेदवार पद्मा अर्यालले अग्रता लिनुभएको छ । मत गणनाको पछिल्लो अवस्था अनुसार अर्यालले २ हजार ३०४ मत पाउँदा कांग्रेस उम्मेदवार धनराज गुरुङले १ हजार ७०३ मत पाउनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १८० मत मात्रै प्राप्त गर्नुभएको छ ।
यसैगरी, सुनसरी-४ को जारी मत गणनामा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको झिनो अग्रता कायमै छ भने बाजुरामा अझै मत गणना सुरू हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्