
दाेलखा । मंसिर ४ गते धाँधलीका कारण स्थगित भएको दोलखाका १० वटा मतदान स्थलमा आज शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।
वैत्यश्वर गाउँपालिकाको वडा नम्बर २ जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्र अन्तर्गतका क र ख मतदान स्थल, वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्र अन्तर्गतका क, ख, ग मतदान स्थल तथा वडा नम्बर ६ को वैत्यश्वर मावि मतदान केन्द्र अन्तर्गत क, ख, ग, मतदान स्थलमा आज मतदान भएको हो ।
यस्तै तामाकोसी गाउँपालिका वडा नम्बर ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र अन्तर्गतका क र ख मतदान स्थलमा पनि मतदान सम्पन्न भएको छ । यी मतदान स्थलहरुमा मंसिर ४ गते मतदानमा धाँधली भएको ठहर गर्दै निर्वाचन आयोगले दोलखास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पुनः मतदान गराउन निर्देशन दिएको थियो ।
दोलखास्थित मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले आजको मतदान छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्