
काठमाडौं । कतारमा सन् २०२२ को नोभेम्बर २१ तारिखबाट फिफा विश्वकप फुटबल प्रतियोगिता सुरू भएको छ । डिसेम्बर १८ सम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत प्रारम्भिक चरणमा ८ समूहमा विभाजित रहेर ३२ राष्ट्र प्रतिष्पर्धा गरेका थिए । जसमा हालसम्म प्रि–क्वाटर फाइनलमा पुग्ने १६ राष्ट्रको टुंगो लागिसकेको छ भने बाँकी १६ राष्ट्र प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
साथै आज शनिबारबाट प्रि–क्वाटर फाइनलका खेलहरु सुरू हुँदैछन् ।
विश्वकप फुटबल मध्यपूर्वमा र चिसो समयमा हुन लागेको यो पहिलो पटक हो । यससँगै कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब देश बनेको छ । सन् २०२२ को विश्वकप फुटबल सञ्चालनका लागि सन् २०१० मा मतदानमा कतारले बाजी मारेको थियो । उसले अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियालाई पछाडि पारेर यो अवसर आफ्नो पोल्टामा पारेको थियो ।
यतिबेला कतारमा भइरहेको फिफा विश्वकप हेर्नेहरुको भीड विश्वभर नै छ । नेपालमा पनि फिफा विश्वकप हेर्नका लागि होटल, रेष्टुराँहरु राति प्रायः बुक हुने गरेका छन् । यतिसम्मकी होटल, रेष्टुराँ मात्रै होइन, सडकमै प्रोजेक्टर राखेर विश्वकप हेर्ने जमात पनि कम छैन ।
यस पटकको विश्वकप विगतको भन्दा धेरै नै रोचक बनिरहेको पनि छ किनभने फुटबलका महारथी मानिने देशहरु कमजोर मानिएका देशहरुसँग पराजित भइरहेका छन् । जसकारण नकआउट चरणमा पुगेका देशहरुको समीकरण पनि हेर्न लायक बनिरहेको छ ।
आफ्ना मन परेको टिमलाई साथ, सहयोग गर्न रातभर जागा बसेर भएपनि समर्थकहरु विश्वकपका हरेक खेलहरु हेर्न छुटाउँदैनन् । घरमा ल्यापटप, कम्प्युटर, मोबाइलमा हेर्नुभन्दा कतै नजिकको होटलमा गएर प्रोजेक्टरमा खेल हेर्नुको मज्जा नै बेग्लै हुन्छ । त्यसैले पनि होला आजभोलि काठमाडौं उपत्यकाका विभिन्न होटलहरु राति पर्यटकहरुले होइन, विश्वकप हेर्नेहरुले भरिभराउ देखिन्छन् ।
होटलमै पार्टी, होटलमा नै रमाइलो साथमा विश्वकपको मज्जा लिन युवाहरु चुक्दैनन् । होटलहरुले पनि विश्वकपका लागि छुट्टै प्याकेज निकालेका छन् । यतिबेला होटलमा मात्रै विश्वकप सिमित भने छैन । जाडोमा घरको आँगनमा नै प्रोजेक्टर राखेर हेर्नेहरुको जमात पनि बाक्लै छ ।



















तस्विर : न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्