२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गण्डकी प्रदेशमा सरकार बनाउने कसरत


832
Shares

गण्डकी । गण्डकी प्रदेशमा प्रत्यक्षतर्फ १७ सिट जितेर सबैभन्दा ठुलो पार्टी बनेको नेपाली काँग्रेसभित्र संसदीय दलको नेता बन्न नेताहरुबीच दौडधुप सुरु भएको छ ।

दलको नेता बन्न गण्डकी प्रदेशको काम चलाऊ सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा र नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे प्रबल दाबेदारका रूपमा अघि सरेका छन् ।

थापा कास्की २ (ख) बाट दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् भने पाण्डे गोरखा क्षेत्र नं. २ (ख) बाट निर्वाचित भएका हुन् । पाण्डे यसअघि राष्ट्रिय सभाका सांसद हुनुहुन्थ्यो ।

गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने दाउमा रहेका यी दुवै नेता संस्थापन समूहका नेता हुन् । संसदीय दलको नेता बन्न दुवै नेता शक्तिकेन्द्र धाउन थालेका छन् । दलको नेता चुनिएपछि मुख्यमन्त्री बन्ने बाटो खुल्छ ।

त्यसैले दुवै नेता मुख्यमन्त्री बन्ने दाउमा दलको नेता चुनिने कसरतमा छन् । ठुलो दल नेपाली काँग्रेस भएकाले उसकै नेतृत्वमा सरकार गठन हुनेमा दुवै नेता विश्वस्त छन् । उता शेखर समूहले भने नवलपुरबाट निर्वाचित महेन्द्रध्वज जि.सी. वा स्याङ्जाका भोजराज अर्यालमध्ये एक जनालाई संसदीय दलको नेतामा अघि सार्ने सम्भावना देखिन्छ ।

उता नेकपा एमालेले संगठन विभाग प्रमुख समेत रहेका पूर्वमन्त्री खगराज अधिकारीलाई मुख्यमन्त्रीका रुपमा अगाडि सारे पनि गण्डकी प्रदेश सभामा गठबन्धनको बहुमत छ । १२ सिटमा खुम्चिएको एमालेले सरकार बनाउने सम्भावना न्यून छ ।