
काठमाडाैं । निर्वाचन आयाेगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामुदायिक रेडियोहरुको भविष्य सुनिश्चित गर्नका लागि विज्ञापन बजार विस्तार हुनुपर्ने बताउनुभएको छ ।
आज आइतबार काठमाडाैंमा नेपाल एफ.एम. नेटवर्कको १९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले सामुदायिक रेडियोहरुको वृद्धि सँगसँगै विज्ञापन बजारको पनि विस्तार हुनुपर्ने बताउनुभएको हो । उहाँले विज्ञापनको दृष्टिकोणबाट सामुदायिक रेडियोलाई हेर्दा अवस्था भयावह देखिएको बताउनुभयो ।
उहाँले हालको अवस्थामा रेडियोलाई टिकाउनका लागि २०० सय प्रतिशतसम्म विज्ञापन वृद्धि हुनुपर्ने बताउनुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले सामुदायिक रेडियोहरु मर्जरमा नगएमा भविष्य नै अन्योलमा रहेको समेत उहाँले उल्लेख गर्नुभयो । उहाँले गाउँगाउँमा रेडियो पुगेको भएपनि रेडियोले उत्पादन गर्ने विषयवस्तु भने एउटै हुने गरेको बताउनुभयो ।
उहाँले रेडियोहरु झुकाव र लगावका कारण समस्यामा परेको बताउनुभयो । रेडियोहरु कुनै लगावबाट मुक्त भएर स्वतन्त्र हुनुपर्ने उहाँको भनाइ छ । थपलियाले कुनै झुकावमा नलागिकन सञ्चार माध्यमको स्वायत्तता र स्वतन्त्रताको निम्ति सामुदायिक रेडियोहरुलाई निर्दिष्ट गर्न सुझावसमेत दिनुभयो । उहाँले सञ्चार माध्यमले उत्पादन गर्ने विषय वस्तुहरुलाई स्वनियमनको विषय बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई सफल गराउनको निम्ति सञ्चार माध्यमको पनि उल्लेख्य भूमिका रहेको भन्दै प्रशंसा गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्