१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चोलेन्द्रशम्शेरकाे महाअभियोग भयाे निश्क्रिय, काममा फर्किदै


286
Shares

काठमाडाैं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निश्क्रिय भएको छ ।

संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिनुभएको हो । जबराले संसद सचिवालयमा निवेदन दिनुभएको थियो । त्यसको जवाफ दिने क्रममा महासचिव गौतमले नियमित हाजिर हुन पत्राचार गर्नुभएको हो । पुरानो संसदकाे कार्यकाल सकिएर संसदमा नयाँ सदस्य निर्वाचित भएसँगै जबरालाई महासचिव गौतमले महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र पठाएउनुभएको हो ।

यससँगै जबराको निलम्बन हटेको छ । निलम्बन हटेसँगै उहाँले इमेज च्यानलसँग कुरा गर्दै नियमित काममा आज बुधबार सर्वोच्च अदालत फर्किने बताउनुभयो । यही मंसिर २७ गते उमेर हदका कारण अनिवार्य अवकास पाउनुअघि जबरा प्रधानन्यायाधीशकै हैसियतमा काममा फर्कन लाग्नुभएको हो ।

जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरूले गत फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । । रोचक त के भने जबराविरुद्धको महाभियोगका सबै प्रस्तावक यहि मंसिर ४ गतेको निर्वाचनमा पराजित भएका छन् । महाभियोगमा माओवादी केन्द्रका देव गुरुङ, कांग्रेसकी पुष्पा भुसाल र एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ प्रस्तावक थिए ।

गुरुङ लमजुङमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङसँग, भुसाल अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीसँग र श्रेष्ठ काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पराजित हुनुभएकाे छ। महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा पर्नुभएको थियो । सर्वाेच्च अदालतमा विचौलियाको रजगज चलाएकोसहितका आरोप लगाएर जबराविरुद्ध संसद्मा महाभियोग दर्ता गरिएको थियो । तर, जबराले आफूमाथि लगाइएका सबै आरोप निराधार रहेको दावी गर्दै आउनुभएको छ ।

नेपाल बारले राजीनामा माग गरेपछि जबराले महाभियोगको सामना गर्ने बताउनुभएको थियो ।