
काठमाडाैं । नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले नयाँ सरकार गठनकाे बारेमा ठूला दलहरुले मिलेर अघि बढनुपर्ने बताउनु भएको छ ।
राष्ट्रिय सञ्चार केन्द्र नेपालले आज बुधबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद थापाले ठूला दलहरुले नयाँ सरकार गठनकाे बारेमा एक ठाउँमा उभिएर बहस गर्नुपर्ने बताउनुभएको हो । संविधानमाथि खेलबाड गर्ने काम हुन नदिन आफू लागि पर्ने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।
संविधानमा संशोधन गर्नुपर्ने विषय भए त्यसलाई दलीय सहमतिको आधारमा अघि बढाउनुपर्ने तर संविधानमाथि खेलबाड गर्ने काम भने कसैले पनि गर्न नहुने सांसद थापाको भनाइ थियो । सांसद थापाले ठूला राजनीतिक दलहरुले संविधानमाथि नै खेलबाड गर्ने गल्ती गरेकाले जनताले उनीहरुको विकल्पको खोजी गर्न पुगेको जिकीर समेत गर्नुभयो । उहाँले जनादेश विपरितका गतिविधि नगर्न पनि दलहरु सचेत हुनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।
त्यस अवसरमा कांग्रेस सांसद थापाले सबै राजनीतिक दलहरुसँग छलफल गरेर भक्तपुरको समग्र विकासमा आफू लागि पर्ने योजना समेत सार्वजनिक गर्नुभयो । उहाँले भक्तपुरलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न ख्वप विश्वविद्यालय स्थापना गर्ने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाउने दृढता समेत व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्