१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गुणस्तरयुक्त पूर्वाधार निर्माणमा जोड दिन आवश्यकः मन्त्री चौधरी


91
Shares

काठमाडाैं । शहरी विकास मन्त्री मेटमणि चौधरीले भौतिक निर्माणका क्षेत्रमा रहेका चुनौतीहरुको सामना गर्न जरुरी रहेको बताउनुभएको छ ।

आज बिहिबार नेपाल निर्माण व्यवसायी महासंघले १५ औं निर्माण दिवसका अवसरमा गरेको प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री चौधरीले भौतिक निर्माणका क्षेत्रमा धेरै चुनौतीहरु रहेको भन्दै त्यसलाई सरकार र निजी क्षेत्रहरु मिलेर सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भौतिक निर्माणका कामहरु गुणस्तर नहुने र समयमा नसकिने समस्याले आम जनताले दुःख पाइरहेको भन्दै जनतालाई सहज बनाउनका लागि निर्माणका कामहरु समयमै र गुणस्तरयुक्त बनाउन निर्देशन दिनुभयो । उहाँले भौतिक निर्माणका लागि आवश्यक रकम उपलब्ध गराउनेबारेमा भने सरकारको ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले सरकार र निर्माण व्यवसायीहरुको सहकार्य बिना ठूला भौतिक निर्माणका पूर्वाधारहरु निर्माण हुन नसक्ने भन्दै अब गुणस्तरयुक्त पूर्वाधार निर्माणमा जोड दिन आवश्यक रहेको बताउनुभयो । ठेकेदारले काम छोडेर भाग्दा कतिपय अवस्थामा समयमा नै काम सम्पन्न हुन नसकेको भन्दै निर्माण व्यवसायीहरुले यसमा ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो ।