
काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा क्रोएसिया र अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको हो ।
एजुकेसन सिटी स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटको अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।
पेनाल्टीमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचले गोल गरे । ब्राजिलका क्यासिमेरो र पेड्रोले गोल गरे भने रोड्रिगो र मार्क्विन्होस पेनाल्टीमा गोल गर्न चुके ।
यस्तै, राति अबेर भएको अर्को खेलमा अर्जेन्टिना नेदरल्यान्ड्सलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा समेत २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।
अर्जेन्टिनाका लियोनल मेस्सी, लिन्ड्रो पारेडेस, गोन्जालो मोन्टिल र लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गरे भने एन्जो फर्नान्डेज पेनाल्टीमा चुके ।
पेनाल्टीमा नेदरल्यान्ड्सका लुक डी योङ, वोउट वेघोर्स्ट र टुन कुपमाइनर्सले गोल गरे । तर, भिर्गिल भान डाइक र स्टिभन बेर्घुइस पेनाल्टीमा गोल गर्न चुके ।
अब अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्