२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दाङमा चहलपहल बढ्यो


299
Shares

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको कार्यालय दाङ सरेपछि देउखुरीमा चहलपहल बढ्न थालेको छ ।

स्थानीयहरू स्वतःस्फूर्त आ–आफ्ना घर वरिपरि, बाटोघाटो सरसफाइमा सक्रिय भएका छन् ।

मुख्यमन्त्रीको कार्यालय सरेसँगै सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति रहेको छ भने सवारी साधनको आवागमन बाक्लिएको छ ।

दुई वर्ष दुई महिनाअघि प्रदेश सभाले यस क्षेत्रलाई प्रदेशको राजधानी तोकेको थियो । यसअघि ३० वर्षदेखि प्राविधिक शिक्षालय अध्यापन भइरहेकोमा अहिले शिक्षालयलाई १४ किलोमिटर दक्षिण राप्ती पारी गढवा गाउँपालिकामा स्थानान्तरण गरिएको छ ।

शिक्षालय भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय व्यवस्थापनको काम भइरहेको प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारूले जानकारी दिनुभयो । यहाँ साना र ठूला गरि २४ वटा भवन छन् ।

प्रदेश सभा भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । प्रदेश सभा भवनमा हाल रङ्गरोगनलगायतका काम भइरहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो ।

प्रदेशका सबै मन्त्रालयलाई पुग्ने गरी पूर्वाधारको व्यवस्थापन भइरहेको छ । यसअघि दुई वटा मन्त्रालय पहिले नै स्थानान्तरण भइसकेका थिए भने बाँकी मन्त्रालयको काम बुटवलबाटै भइरहेको थियो ।

गत सोमबार मध्यराति प्रदेश मुख्यमन्त्री र मुख्य सचिवको कार्यालय बुटवलबाट यहाँ सारिएको थियो । यही मंसिर ४ मा निर्वाचित भएका प्रदेश सभाका सांसदहरूको सपथ पनि यसै प्रदेश सभा भवनमै गराउने तयारी रहेको मुख्यमन्त्री कुलप्रसाद के.सी.ले बताउनुभयो ।