२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


बारामा पेट्रोल ट्याङ्की निर्माण हुने


494
Shares

काठमाडौं । नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह ट्याङ्की निर्माण गर्ने भएको छ ।

चार वर्ष अघि भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ६९ किलोमिटर मल्टी पाइप लाइन विस्तार गरेर डिजेल ल्याउन सुरू गरेको निगमले पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह निर्माण गर्ने तयारी थालेको हो ।

पाइपलाइन विस्तार भएको ६९ किलोमिटर क्षेत्रमध्ये भारतमा ३३ र नेपालमा ३६ किलोमिटर भू–भाग पर्दछ । पाइपलाइन विस्तारका लागि भारतीय आयल निगमले दुई अर्ब भारतीय रुपैँया खर्च गरी सकेको छ । एउटै पाइपलाइनबाट पेट्रोल, डिजेल र मट्टितेल ल्याउन मिल्ने भए पनि भण्डारणका लागि छुट्टै ट्याङ्की नहुँदा पेट्रोल र मट्टितेल पाइपलाइनबाट ल्याउन समस्या भएको थियो ।

अमलेखगञ्जमा डिजेल भण्डारणका लागि ४५ लाख लिटरका दुईवटा ट्याङ्की, ४१ लाख लिटरको एउटा र अर्को ३९ लाख लिटरको ट्याङ्की रहेको छ । पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगञ्जसम्म डिजेल ल्याँउदा निगमको वार्षिक दुई अर्ब रुपैया बचत हुँदै आएको छ ।

निगम अमलेखगञ्जका प्रमुख इन्जिनियर प्रदीपकुमार यादवले पेट्रोल र मट्टितेल ल्याउनका लागि आयल निगमले छुट्टै भण्डारण गृह बनाउन सुरू गर्न लागेको जानकारी दिनुभयो । भण्डारणका लागि एक अर्ब ५४ करोड भारतीय रुपैयाँ लाग्ने निगमले जनाएको छ ।

अमलेखगञ्जमा पेट्रोल भण्डारण गृह निर्माण भएसँगै निगमको मासिक झण्डै १२ देखि १५ करोड रुपैयाँ र वार्षिक एक अर्ब ५० करोड रुपैयाँ बचत हुने बताईएको छ ।