
काठमाडौं । साविक विजेता फ्रान्स र मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शनिबार राति भएको अन्तिम क्वार्टरफाइनल खेलमा फ्रान्सले इंग्ल्याण्डलाई तथा मोरक्कोले पोर्चुगललाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
अन्तिम क्वाटरफाइनलमा फ्रान्सले इंग्ल्यान्डलाई २–१ ले हराएको थियो ।
फ्रान्सका लागि ओरेलिएन चुवामेनी र ओलिभर जिरुडले एक एक गोल गरे ।
इंग्ल्याण्डका ह्यारी केनले पेनाल्टीमार्फत एक गोल गरेका थिए । तर, केनले नैं खेलको अन्त्यतिर अर्को एउटा पेनाल्टी अवसर खेर फालेपछि इंग्ल्याण्डले खेल बराबरी गर्ने मौका गुमाएको थियो ।
खेलको १७ औं मिनेटमा चुवामेनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर, खेलको ५४ औं मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई १–१ गोलको बराबरीमा ल्याए । ७८ औं मिनेटमा जिरुडले हेडरमार्फत उत्कृष्ट गोल गर्दै फ्रान्सलाई २–१ को जित दिलाए ।
शनिबार रातिको पहिलो खेलमा पोर्चुगललाई १–० ले हराउँदै मोरक्को सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको हो ।
खेलमा मोरक्कोलाई विजयी गराउन योसुफ एन–नेसिरीले निर्णायक गोल गरे । खेलको ४२ औं मिनेटमा नेसिरीले गोल गर्दै मोरक्कोलाई पहिलो पटक सेमिफाइनलमा प्रवेश गराए ।
अफ्रिकी महादेशको उत्तरी मुलुक मोरक्कोले जारी विश्वकपमा सनसनीपूर्ण प्रदर्शन गरिरहेको छ । अफ्रिकासँगै अरब देशहरुबाट समेत विश्वकपको सेमिफाइनलमा पुग्ने मोरक्को पहिलो देश बनेको छ ।
अब साविक विजेता फ्रान्सले मोरक्कोसँग सेमिफाइनलमा भिडन्त गर्नेछ ।
विश्वकप फुटबलका सेमिफाइनल खेलहरु मंगलबारदेखि हुनेछन् । मंगलबार हुने पहिलो खेलमा अर्जेन्टिनाले क्रोएसियासँग खेल्दा बुधबार फ्रान्स र मोरक्को भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्