१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जंगली जनावरले आक्रमण गर्दा पनि स्थानीयको वनमा जाने क्रम अझै रोकिएन


598
Shares

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र आसपासका वासिन्दा वर्षेनी जंगली जनावरको शिकार हुने गरेका छन् ।

वन्यजन्तुको आक्रमणबाट घरपालुवा पशु र अन्नबालीको पनि क्षति हुने गरेको हाे । यति हुँदा पनि स्थानीय वासिन्दा सामुदायिक वनमा जाने क्रम भने रोकिएको छैन ।

बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दाको सामुदायिक वनहरुमा जाने दैनिकी नै बनेको छ । घाँस दाउरा, मेला पातका लागि उनीहरु सामुदायिक वनमा जाने गर्दछन् । वनमा गएर जोहो गर्ने गरेकै अवस्थामा जंगली जनावर बाघ हात्तीले कैयौंको ज्यान समेत लगिसकेको छ । जंगली जनावरले मानिसहरुको ज्यान लिएको घटना देखेसुने पनि गुजारा चलाउनका लागि वनमा जानुपर्ने बाध्यता भएको बर्दिया ठाकुरद्वारा नगरपालिका–९ की मनिषा चौधरीले बताउनुभयाे ।

बर्दिया राष्ट्रिय निकुञ्जमा सहजै आवागमन गर्न पाइँदैन । निकुञ्ज प्रवेश गर्दा निकुञ्ज प्रशासनसँग अनुमति लिनुपर्ने प्रावधान छ । तर नियमको अवज्ञा गर्दै लुकिछिपि भएपनि निकुञ्ज र आसपासका वनहरुमा स्थानीय जाने गरेका छन् । वन्य जन्तु र मानवबीचको द्वन्द्व न्यूनिकरणका साथै सम्भावित घटनाहरु कम गर्न निकुञ्जले विद्युतीय तारवार र सिमेन्टको पर्खाल लगाउने कार्यलाई निरन्तरता दिई घटना कम गर्ने प्रयास गरिरहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बताउनुभयो ।

वन्यजन्तुको आक्रमणबाट मानव, पशुवस्तु र अन्नपात लगायतका क्षति भएमा निकुञ्जले राहत दिने गर्दछ । क्षतिपछिको राहत सामान्य परिपुरण हो । तर राहतको लोभले भएपनि स्थानीयले आफ्नो व्यवहारमा झिनो परिवर्तन समेत गर्न सकेका छैनन् । वनमा जाँदा हुने नोक्सानीलाई हेक्का राख्दै मानिसहरुले आफ्नो व्यवहार परिवर्तन गनुपर्ने आवश्यकता रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा. रबिन कडरीयाले सुझाव दिनुहुन्छ ।

बर्दिया भनेपछि बाघले मान्छे मार्ने ठाउँ भनेर पछिल्लो समय दुष्प्रचार गर्ने गरिएको छ । जबकी बाघले मान्छे खोज्दै मार्ने भने होइन, आहाराको खोजीमा हिडिरहेको बाघसँग पौठेजोरी खोज्न मानिसनै वनमा छिर्ने गरेका कारण बाघले मान्छे मार्ने गरेको हो । बर्दिया राष्ट्रिय निकुञ्ज बाघ, हात्ती, गैंडा लगायत सयौं थरीका जनावर र चराचुरुङ्गीको बासस्थान हो ।

वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनिकरण गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सके अन्तराष्ट्रिय स्तरमै बर्दियाको पहिचान बन्ने भएकाे छ ।