
काठमाडौं । जाजरकोटमा सोमबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
जाजरकोट जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारका लागि अस्पताल लगिएका जयलाल अधिकारीको पनि मृत्यु भएपछि मृतक संख्या १२ पुगेको हो ।
जाजरकोटका छेडगाड नगरपालिका–५ मा सोमबार दिउँसो ४ बजे जीप दुर्घटना हुँदा घटनास्थलमै ८ जनाको मृत्यु भएको थियो भने दुई जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।
मृत्यु हुनेहरुमा दैलेखको भगवतीमाई गाउँपालिका–२ का जीप चालक मानबहादुर बस्नेत, वडा नम्बर ३ का वीरेन्द्र केसी र अम्मरबहादुर खड्का रहेका छन् ।
यस्तै जाजरकोटको छेडगाड नगरपालिका वडा नम्बर ६ का बीरबहादुख खत्री, वडा नम्बर ५ का जयकुवारा बुढा, नैनसरा अधिकारी, रामबहादुर बुढा, दीपक अधिकारी, उनकी छोरी निशा अधिकारी, देवीसरा बुढा, अम्मर अधिकारी र जयलाल अधिकारी रहेका छन् । छेडगाडको वडा नम्बर ५ का आठ जनाको मृत्यु भएको छ ।
विवाहमा सहभागी एक जना बिरामी परेपछि उनलाई उपचारका लागि बडावन अस्पताल लिएर जाँदै गर्दा जीप भीरबाट तीन सय मिटर तल खसेको थियो । बिरामी लिएर जाँदै गरेको जीप खाली देखेपछि स्थानीयहरु अलि परसम्म जाने भन्दै जीपमा चढेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्