१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


समयमै भुक्तानी नपाएपछि सक्खर उद्योगलाई उखु बेच्न बाध्य


91
Shares

सर्लाही । सर्लाहीका उखु मिलहरुले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् ।

हरिवन नगरपालिका–११ स्थित रहेको इन्दु शंकर चिनी उद्योगबाहेक अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले समयमै उखु उत्पादक किसानको भुक्तानी नदिएपछि किसानले उत्पादन गरेको उखु सक्खर उद्योगलाई बेच्न थालेका हुन् ।

जिल्लामा रहेका चिनी मिल पनि समयमा सञ्चालन नहुने र उखु बेचेको लामो समयसम्म पनि भुक्तानी नपाउने चिन्तामा रहेका किसान स्थानीय सक्खर उद्योगलाई आफूले उत्पादन गरेको उखु समयमै बेचेर खाली भएको जमिनमा मुसुरो, गहुँ र धनियाँ लगाउन थालेका छन् ।

इन्दुशंकर चिनी उद्योग पुसको पहिलो साताबाट सञ्चालन गर्ने तयारी भइरहेको छ । अन्नपूर्ण सुगर मिल र महालक्ष्मी सुगर मिल विगतका वर्षमै खरिद गरेको उखु उत्पादक किसानको रकम भुक्तानी गर्न नसकेर सञ्चालन हुने नहुने दोधारमा छन् ।

किसानहरुले समयमै उखु बिक्री गर्न नपाउँदा खेतमा अन्य बाली लगाउन नपाउने हुँदा सक्खर उद्योगलाई उखु बेचेर भए पनि समयमै आफ्नो खेत खाली गरी अन्य बाली लगाउँन किसान बाध्य छन् ।

चिनी मिल समयमै सञ्चालन नहुने र सञ्चालन भइहाले पनि भुक्तानी कहिले पाउने भन्ने टुंगो नहुने भएका कारण किसानले खेतमा अर्को बाली पनि लगाउन पाएका छैनन् । भुक्तानीको चिन्ता सधैँ रहिरहने गरेका कारण पनि किसान सक्खर उद्योगलाई उखु बिक्री गर्न थालेका हुन् ।

सरकारले यस वर्ष छ सय प्रति क्विन्टल उखुुको मूल्य निर्धारण गरेको भए पनि जिल्लाका किसानले अहिले सक्खर उद्योगलाई प्रति क्विन्टल तीन सय ५० का दरले उखु बेच्न थालेका छन् ।