
काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद सचिवालयका कर्मचारीहरुको सेवा सुविधा बढाउने अवस्था नरहेको स्पष्ट पार्नु भएको छ ।
संसद सचिवालयका कर्मचारीहरुले आफ्नो सेवा सुविधा वृद्धि गर्न माग गरिरहेका बेला अध्यक्ष तिमिल्सिनाको यस्तो भनाइ बाहिर आएको हो । संसद् सेवा दिवसको अवसर पारेर मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मुलुकको आर्थिक अवस्थामा सुधार नआई संसद सचिवालयको लागि बजेट बढाउन नमिल्ने स्पष्ट पार्नु भयो ।
अध्यक्ष तिमिल्सिनाले जनताको आर्थिक अवस्था कमजोर भएको बेला कर्मचारीहरुले आफ्नो सुविधा थप गर्न माग गर्न नहुनेतर्फ पनि सचेत गराउनु भयो । देशको आर्थिक अवस्थामा सुधार आएपछि ती विषयहरुलाई सम्बोधन गर्न जोड दिने उहाँले आश्वासन थियो । अध्यक्ष तिमिल्सिनाले सांसदहरुको सुविधा बढाउनुपर्ने विषय पनि उठान हुने गरेको उल्लेख गर्दै अहिले त्यस विषयमा ध्यान दिन नसकिने बताउनु भयो ।
अध्यक्ष तिमिल्सिनाले संसदको कामकारबाहीबारे वस्तुनिष्ठ समिक्षा गर्दैं अघि बढनुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो । कार्यक्रममा बोल्दै पूर्वसभामुख तारानाथ रानाभाटले संसद अझै पनि सरकार र कर्मचारीतन्त्रको अपहेलनाबाट मुक्त हुन नसक्दा मुलुकमा प्रजातन्त्र कमजोर हुन पुगेको बताउनु भयो ।
उहाँले संसद सचिवालयलाई स्वायत्त निकाय बनाएपनि त्यसले जनताको सार्वभौम निकायको रुपमा काम गर्ने क्षमताको विकास गर्न नसकेको गुनासो गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस्