
काठमाडौं । धनुषाको नगराइन नगरपालिकास्थित राजेश्वर निधि माध्यमिक विद्यालयका विद्यार्थीहरूले पठनपाठन सुचारू गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।
उनीहरुले अवरुद्ध पठनपाठन सुचारू हुनुपर्ने माग गर्दै जनकपुर जटही सडक खण्डसमेत अवरोध गरेर प्रदर्शन गरेका हुन् । शिक्षकहरूले चालू आर्थिक वर्ष २०७९/०८० श्रावण महिनादेखि नै तलब भत्ता नपाएपछि शिक्षकहरू पठनपाठन अवरूद्ध गरी १५ दिनदेखि धर्नामा बसेका छन् ।
शिक्षकहरू नै धर्नामा बसेपछि राजेश्वर निधि माध्यमिक विद्यालयसहित नगरभित्रका करिब आधा दर्जन विद्यालयको पठनपाठन अवरुद्ध भएको छ । पठनपाठन अवरुद्ध भएपछि विद्याथीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् । विद्यार्थीहरुको अर्धवार्षिक परीक्षाको कार्यक्रम पनि अवरुद्ध भएको छ । आफ्ना मागहरु पूरा नभए थप कडा आन्दोलन गर्ने विद्यार्थीहरूले चेतावनी दिएका छन् ।
नगरपालिकाको बजेट पारित हुन नसक्दा नगरपालिका अन्तर्गत कार्यरत शिक्षक र अन्य कर्मचारीहरूको तलब भत्ता ५ महिनादेखि बाँकी रहेको छ । जसका कारण नगरको विकास निर्माणका कार्यहरू समेत महिनौंदेखि अवरुद्ध भएकाे छन् ।
प्रतिक्रिया दिनुहोस्