१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वीरगञ्ज महानगरले फोहोर व्यवस्थापन गर्न मोबाइल एप्लिकेशन ल्याउने


39
Shares

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले नगरको फोहोर व्यवस्थापनका लागि मोबाइल एप्लिकेशन प्रयोगमा ल्याउन लागेको छ ।

द एशिया फाउण्डेशनको सहयोग र क्लिन अप नेपालको प्राविधिक व्यवस्थापनमा महानगरले मोबाइल एप्लिकेशन प्रयोगमा ल्याउन लागेको हो । महानगर र क्लिन अप नेपालबीच सम्झौता भएसँगै केही दिनमै यो एप्लिकेशन प्रयोगमा आउने वीरगञ्ज महानगरपालिका मेयर राजेशमान सिंहले जानकारी दिनुभयो । क्लिन अप नेपालले निर्माण गरेको सफा नेपाल नामक एप्लिकेशन एण्ड्रोइड भर्सनमा अहिले उपलब्ध रहेको छ । यो एप्लिकेशनलाई आइओएस भर्सनमा पनि निर्माण गरेर प्रयोगमा ल्याइने क्लिन अप नेपालका रविन्द्र लामिछानेले बताउनुभयो ।

एप्लिकेशन प्रयोगकर्ताले नगरको कुनै पनि ठाउँमा जथाभावी फोहोर फालेको देखेमा वा फोहोर जम्मा भएको देखेमा फोटो खिचेर एप्लिकेशनमा रिपोर्ट गर्न सक्ने छन् । रिपोर्ट गरेको फोटोको आधारमा स्थान निर्धारण गरेर फोहोर व्यवस्थापनका लागि तत्कालै महानगरको टोली खटिने भएकाे छ । फोहोर फाल्दै गरेको व्यक्तिसहितको फोटो पठाए फोहोर फाल्नेको पनि पहिचान गरेर उसलाई दण्डित गरिने मेयर सिंहले बताउनुभयो ।

फोहोर फाल्नेको फोटो खिचेर सूचना दिनेको पहिचान भने गोप्य राखिने उहाँले बताउनुभयाे।