
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारी निकाय र अन्तरमन्त्रालयबीच समन्वय हुन नसक्दा अर्थतन्त्रमा समस्या भइरहेको बताउनुभएको छ ।
आज राजधानीमा भएको कार्यक्रममा ढकालले मन्त्रालय र सरकारी निकायहरुबीचको समन्वयको कमीले अवसर हुँदासमेत विकास निर्माणका कामले गति लिन नसकेको बताउनुभएको हो । उहाँले नयाँ बन्ने सरकारले अन्तरमन्त्रालय र सरकारी निकायबीचको समन्वयका बारेमा ध्यान दिनुपर्ने बताउनु भयो ।
उहाँले निजी क्षेत्रले उठाएका मागहरु निजी क्षेत्रका समस्या मात्रै हुन् भन्ने हिसावले नबुझ्न पनि सचेत गराउनु भयो । कार्यक्रममा नेपाल चेम्बर्स अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेसकुमार अग्रवालले निजी क्षेत्रलाई तरलता र उच्च ब्याजदरको समस्या बढी भएको बताउनु भयो ।
उहाँले पुसमा किस्ता तथा ब्याज तिर्न निजी क्षेत्रलाई थप पुँजी कहाँबाट ल्याउने भन्ने समस्या भइरहेको पनि बताउनु भयो । उहाँले यही अवस्था भइरहे उद्योगी व्यवसायीहरु पुसपछि आन्दोलनमा जानुपर्ने अवस्था आउने चेतावनी दिनुभयो ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बजारलाई अर्थतन्त्रको प्रमुख अंग बनाउने दिशातर्फ डोर्याउनलाई बोर्डले पारदर्शिता, व्यवसायिकता, प्रतिष्पर्धाको माहोल निर्धारण गरेको दाबी गर्नुभयो । अध्यक्ष हमालले धितोपत्र बजारलाई मुलुकको अर्थतन्त्रको मेरुदण्ड बनाउने गरी काम गरिरहेको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्