
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीका शीर्ष नेताहरुसँगको भेटघाट कुनै पद प्राप्तिका लागि नभएको बताउनुभएको छ ।
नेता केसीले वर्तमान राजनीतिक वस्तुस्थितिको विषयमा आफूले पार्टी सभापति शेरबहादुर देउवा, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत दलका शीर्ष नेताहरुसँग भेट गरेको बताउनुभएको हो ।
सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अहिलेको राजनीतिक स्थिति चुनौतिपूर्ण रहेको भन्दै जनमानसमा आएका नकारात्मक धारणालाई कसरी समाधान गरेर अघि बढ्न सकिन्छ भन्ने बारेमा नेताहरुसँग भेट बढाएको बताउनुभयो ।
नेता केसीले स्थापित पार्टीहरुको नेता, नेतृत्व, नीति र कार्यशैलीको विरोधमा नो भोटका रुपमा नागरिकहरुले स्वतन्त्रहरुलाई भोट दिएको बताउनुभयो ।
नेता केसीले अहिलेको परिस्थितिलाई नयाँ पन र नयाँ बाटो दिनको निम्ति सत्य र विवेकको आवाज, भ्रष्टाचार विरोधको आवाज, विधि विहीनता विरोधको आवाज, सुशासन स्थापना गर्नको निम्ति संसदमा आफूले असल सांसदको रुपमा काम गर्ने स्पष्ट पार्नुभयो । उहाँले मन्त्रीमा आफ्नो कुनै अपेक्षा नरहेको भन्दै कसैसँग कुनै पनि पद माग्न नजाने स्पष्ट पार्नुभयो ।
पार्टीका शीर्ष नेताहरुसँगको भेटलाई लिएर विभिन्न सञ्चारमाध्यमहरुमा सभामुखका लागि भेटघाट तिब्र बनाएको समाचार सार्वजनिक भएका थिए । नेता केसीले पछिल्लो समय एमालेका अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरूसँग भेट गर्नु भएको थियो ।
उहाँले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बेलामा ठूलाठूला भ्रष्टाचारका काण्डहरु भए, मैले दुई, चार महिना अघिमात्रै पनि वाइडबडी काण्डदेखि ३३ केजी सुनसम्म ओम्नी, यति प्रकरणदेखि बुढीगण्डकीसम्मका कुरा गरेर ताली खाने काम गरेपनि आफ्नै सरकार र आफ्नै पार्टी सभापति हुँदा ठूला काण्डहरुको बारेमा छानबिन हुन नसकेकोमा दुखेसो पोख्नुभयो ।
नेता केसीले कांग्रेस गठबन्धन भित्रको ठूलो दल भएकाले पनि कांग्रेसकै नेतृत्वमा आगामी सरकार बन्ने पनि दाबी गर्नुभयो । उहाँले निर्वाचनमा जनताको बीचमा गरेका प्रतिबद्धताहरुलाई पूरा गर्नका लागि गठबन्धनलाई स्थायित्व र स्थिरता दिने प्रतिबद्धता नै आजको आवश्यक्ता भएको बताउनुभयो ।
नेता केसीले पार्टी भित्रको नीति, नेतृत्व, कार्यशैली, विधि, व्यवहारलाई परिवर्तन गरेर नयाँ विश्वास, आशा जगाउने परिवेश निर्माण गर्नुपर्ने अहिलेको आवश्यक्ता भएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्