
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीको समस्यालाई हाउगुजीको रुपमा प्रश्तुत गरिएको भन्दै आपत्ति जनाउनुभएको छ ।
बिहीवार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले काठमडौंमा आयोजना गरेको प्रगति समीक्षा तथा सहकारी सुशासन बुलेटिन विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।
उहाँले सहकारीमा भएको समस्याभन्दा बढी समस्या जस्तो बनाएर सहकारीका समस्याहरुको प्रचार गरिएको बताउनु भयो । उहाँले समस्यामा आएका सहकारी औंलामा गन्न सकिने रहेको भन्दै राम्रा कामहरुको प्रचार हुन नसक्नु दु:खद् रहेको बताउनु भयो ।
मन्त्री श्रेष्ठले राम्रा सहकारी खोज्न विदेश जानुपर्ने अवस्था नरहेको भन्दै नेपालभित्र नै राम्रा सहकारी रहेको र महिलाहरुले सञ्चालन गरेको सहकारीहरु अझ उत्कृष्ट रहेको बताउनु भयो ।
उहाँले सहकारीमा आएको समस्या एकाध शहरमा र शहरउन्मुख क्षेत्रमा भएको भन्दै वास्तविक सहकारीको सिद्धान्त, उद्देश्य, मर्म र भावना अनुसार सञ्चालन नभएको ठाउँमा समस्या आएको स्पष्ट पार्नुभयो ।
मन्त्री श्रेष्ठले सहकारीको माध्यमबाट मुलुकमा नै रोजगारी सिर्जना गरी विदेश पलायन भइरहेको युवा शक्तिलाई नेपालमै राख्नुपर्ने अपरिहार्य आवश्यक्ता भएको बताउनु भयो ।
युवाहरुलाई नेपालमा नै राख्न नसकेको खण्डमा केही समयमा नेपाल बालबालिका र बुढापाकाको मुलुक बन्ने स्थिति सिर्जना भएको बताउनु भयो । मन्त्री श्रेष्ठले रोजगारीको सिर्जना गर्न नसक्नुको चुरो कारण पत्ता लगाइ त्यसको समाधान खोज्नुपर्ने बताउनु भयो ।
मन्त्री श्रेष्ठले सहकारी सम्बन्धी ऐनहरु छरिएर रहेका कारण कतिपय अवस्थामा बाझिएको बताउनु भयो । उहाँले उहाँले भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमीसम्बन्धी एकीकृत कानून निर्माण गर्ने पहल भएको बताउनु भयो । मन्त्री श्रेष्ठले उहाँले कसैले आफ्नो स्वार्थसिद्धिका लागि ऐनहरुको निर्माण गरेको पाइएको बताउँदै सरकारमुखी र जनमुखी ऐनहरु निर्माण गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले वास्तविक सहकारी सदस्य र सदस्यकेन्द्रित सहकारीको विकास गर्नेगरी सरकार अघि बढेको बताउनु भयो । मन्त्री श्रेष्ठले केही सहकारीका व्यवस्थापकका कारण नागरिकलाई समस्या र राज्य पनि ठगिने अवस्था रहेको बताउनु भयो । उहाँले सहकारीलाई सिद्धान्तअनुसार सञ्चालन गरी अघि बढ्न निर्देशन दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्