
काठमाडाैं । आयात प्रतिबन्धले अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको देखिएको छ । पछिल्लो समय अर्थतन्त्रमा सामान्य सुधारको संकेत देखिएको हो । निरन्तर उकालो लाग्दै आएको मूल्यबृद्धिमा केही कमी आएको छ भने बाह्य क्षेत्रमा पनि सुधार आएको छ ।
राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक बर्षको चौथो अर्थात् कात्तिक महिनासम्मको आर्थिक स्थितिमा केही सुुधारको संकेत देखिएको हो । मूल्यबृद्धि असोज मसान्तसम्म साढे ८ प्रतिशत उक्लिसकेकोमा कात्तिकमा केही घटेर ८ दशमबल ०८ प्रतिशतमा सीमित भएको राष्ट्र बैंकले जनाएको हो ।
अघिल्लो बर्षको कात्तिकमा मूल्यबृद्धि ६ दशमलब ०४ प्रतिशत थियो । यस्तै, कात्तिकमा बाह्य क्षेत्रमा पनि थप सुधार आएकोे छ । यस अवधिमा शोधनान्तर बचत २० अर्ब ३ करोड रुपैयाँ पुगेको छ । करिब १४ महिना ऋणात्मक रहेको शोधनान्तर असोजमा आएर बचतमा आएको थियो । असोजमा शोधनान्तर १२ अर्ब बढी बचतमा थियो ।
सरकारले आयातमा गरेको प्रतिबन्धका साथै रेमिटेन्समा भएको सुधारले शोधनान्तर बचतमा गएको हो। यस अवधिमा विप्रेषण आप्रवाह करिब साढें २० प्रतिशतले बढेर ३ खर्ब ७८ अर्ब पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले घटेको थियो । चालु खाता घाटा भने उस्तै देखिएको छ । यस अवधिमा चालु खाता घाटा ३५ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।
असोजमा चालु खाता ३४ अर्ब २८ करोडले घाटामा रहेको थियो । यस्तै यस अवधिमा विदेशी विनिमयको सञ्चिति १२ खर्ब ४६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । यसले ९ दशमलब ७ महिनाको वस्तु र ८ दशमलब ४ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ । असोज मसान्तमा विदेशी मुद्रा १२ खर्ब ४६ अर्ब २२ करोड थियो ।
प्रतिक्रिया दिनुहोस्