
काठमाडौं । अभिनेता आर्यन सिग्देलले चलचित्र ‘डिसेम्बर फल्स’ पल शाहको कथावस्तुमा बनेको हो भनेर प्रश्न गर्नेलाई जवाफ दिएका छन् ।
उनले दर्शकले आर्यन सिग्देललाई जस्तो चलचित्रमा देख्न रुचाएका थिए सोही चलचित्र बनेको दाबी गरेका छन् । सञ्चारकर्मीहरुले जेलमा रहेका अभिनेता पल शाहको बारेमा चलचित्र बनाइएको हो भन्दै प्रश्नसमेत गरेका थिए ।
जसमा उनले पल शाहको कथावस्तुलाई चलचित्रमा नराखिएको दाबी गरेका छन् । चलचित्रमा नर्सको लाइफमा भएका उत्तारचढाव समेटिएको बताए ।
उनले भने, ‘चलचित्र राम्रो बनेको छ, प्याकेजको चलचित्र छ, आर्यन सिग्देललाई जस्तो चलचित्रमा दर्शकहरु हेर्न चाहनुहुन्थ्यो त्यस्तै बनेको छ । पल शाहको कथावस्तुलाई यो चलचित्रमा राखिएको छैन, त्यस्तो नसोच्नुहोला । यो अनुमान गलत, हो कथामा यो छैन । एउटा नर्सको लाइफमा भएका उत्तारचढावको बारेमा देखाइएको छ ।’
कार्यक्रममा कलाकार शिवहरि पौड्यालले भारतीय निर्देशक भएकाले चलचित्र राम्रो बनेको बताएका छन् ।
प्रविण झा निर्देशित चलचित्रको ट्रेलरमा कतै खुल्ला र कतै सस्पेन्स छोडिएको छ । पुस १५ गते प्रदर्शन हुने चलचित्रमा आर्यनसँगै उपासना सिंह ठकुरी, शिवहरी पौड्याल, नागेन्द्र रिजाल, सलोन बस्नेत, नरेश भट्टराई, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरीलगायतका कलाकारहरुको अभिनय छ ।
बीपीका खनालको कथा, केदार भुषाल, प्रतिक पौडेलको संवाद र पटकथा रहेको चलचित्रमा श्री श्रेष्ठको एक्शन, महेश आर गुप्ताको छायांकन, दीपक शर्मा, कोसिस क्षेत्री, सुशान्त गौतम, प्रतिक पौडेलको संगीत र वनिष शाहको सम्पादन रहेको छ ।
रामप्रसाद रिजालको प्रस्तुती रहेको चलचित्रमा राजकुमार भट्टको निर्माण र लक्ष्मण रिजाल र अशिम काफ्लेको कार्यकारी निर्माण छ ।
प्रतिक्रिया दिनुहोस्